सर्वोच्चको फैसला ऐतिहासिक र जनभावना अनुसार भएको नेताहरुको प्रतिक्रिया

काठमाडौं । संसद पुर्नस्थापना भएसँगै बिभिन्न दलका नेताहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले संसद पुर्नस्थापनाले जनताको जीत भएको दाबी गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन समेत चेतावनी दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरको फैसलाले समस्त जनता र संविधानको जित भएको बताएका छन् । उनले सर्वोच्चको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासको जित भएको दाबी गरे । यसले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको सभामुख सापकोटाको भनाई छ ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला समेत लगाएका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । अर्का अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको प्रतिक्रिया दिए ।
संसद विघटनविरुद्ध बुधबारको लागि निर्धारित विरोध सभामा सहभागी हुन चितवन पुगेका नेता नेपालले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै नेपाली जनताको जित भएकोमा खुसी लागेको बताए । बुधबार लागि निर्धारित चितवनको विरोध सभा अब विजय सभामा परिणत हुने नेपालको भनाई छ । त्यस्तै, नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताए । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । गौतमले प्रतिनिधिसभा बैठक अगाडि नै ओलीले राजीनामा दिएर अर्को प्रधानमन्त्री चुन्न सहयोग गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’भनेका छन् । देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण गराएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताए । उनले अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि बताए । ’केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार नभएको पौडेले जिकिर गरे ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले पुनस्र्थापना गरेर नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । दिल्लीमा उपचार गराइरहेका बाबुरामले प्रतिनिधिसभा पुनस्र्थापनापछि खुशी व्यक्त गर्दै यस्तो बताएका हुन् । उनले यो खबर सुन्दा रोगै हराए झैँ भएको प्रतिक्रिया समेत दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताएका छन् । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेताहरुले प्रतिक्रिया
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्