नेकपा कर्णाली प्रदेशको विवादले केन्द्रमै हंगामा, ओली दाहालका छुट्टाछुट्टै निर्देशन

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएको यो कार्तिक ५ गतेको निर्देशन ।
अनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मालाई दिइएको निर्देशन र बोधार्थमा यमलाल कँडेललाई दिएको यो निर्देशन ।
अध्यक्षद्धय ओली र दाहालका यी छुट्टाछुट्टै निर्देशनले कर्णाली प्रदेशमा मात्रै होइन केन्द्रमा समेत नेकपाभित्र कति अन्र्तसंघर्ष छ भन्ने पुष्टि गरिदिएको छ । अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लेखेको पत्रमा निवर्तमान मुख्य सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि शाहीले शाहलाई कारबाही गरेर सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।
नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता शाहीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव शुक्रबार बहुमतले खारेज गरिसकेको छ । तर, प्रमुख सचेतक नेपालीले बोलाएको बैठक नै अबैधानिक भएको अविश्वासको प्रस्ताव पेश गर्ने नेताहरुले बताएका छन् । एकातिर अविश्वासका प्रस्ताव खारेज हुँदा अध्यक्ष दाहालले लेखेको पत्रमा आफू र ओलीबीच ४ कात्तिकमा भएको सहमति लागू गर्न प्रदेश इन्चार्जलाई निर्देशन छ । दाहालले ‘दुई अध्यक्षहरुबीच कार्तिक ४ मा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो । यो समझदारी र हाम्रो दलको प्रदेश सभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन दिन्छु भनी उल्लेख गरेका छन् ।
यद्यपी ओली र प्रचण्डबीच ४ कात्तिकमा भएको भेटपछि उनीहरूका सचिवालयले फरक–फरक प्रेस नोट सार्वजनिक गरेका थिए । कर्णाली प्रदेशमा बरिष्ठ नेता माधव कुमार नेपालको साथ पाएर अध्यक्ष दाहाल निकट मुख्यमन्त्री शाहीले आफनो कुर्सी बचाएका छन् । नेपाल निकट नेताहरुलाई मन्त्री बनाउने आश्वासन मुख्यमन्त्री शाहीले दिएका छन् । जसका कारण प्रधानमन्त्री ओलीलाई कर्णालीमा ठूलो धक्का लागेको छ । ओली पक्षीय नेताहरु पनि नयाँ रणनिति बनाउने गरी छलफलमा जुटिरहेका छन् ।
नेकपा एउटै पार्टीमा दुई अध्यक्षले छुट्टाछुट्टै बिज्ञप्ती र निर्देशन दिनुले पार्टीमा कतिसम्म भाँडभैलो छ भन्ने प्रष्ट हुन्छ । बालुवाटार र खुमलटारबाट जारी नोटमा आ–आफनो गुटको नेतालाई बचाउ गर्ने गरी निर्देशन दिइएको छ । बालुवाटारबाट बिज्ञप्ती जारी हुने बित्तिकै खुमलटारले खण्डन गर्ने र अध्यक्षद्धयका फरक–फरक निर्देशनले कर्णाली प्रदेशको विवादले केन्द्रमा समेत हलचल मच्चाइदिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेश
तपाईको कमेन्ट लेख्नुहोस्