माताले बिहे गर्न दबाब दिएपछि युवकले गरे हत्या
काठमाडौं । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–४ लामाचौरकी माता भनिने ४९ वर्षीया शुशिला मल्लको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । शुशिलाको हत्या आरोपमा प्रहरीले चौरजाहरी नगरपालिका–११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । साउन २३ गते प्रेमले नै शुशिलाको हत्या गरेको रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलले दाबी गरे । शुशिलाले बिबाह गर्न दबाब दिएपछि प्रेमले उनको हत्या गरेका हुन् ।
शुशिला र प्रेमको डेढ वर्ष पहिले जाजरकोटको रिम्ना मेलामा भेटघाट र चिनजान भएको थियो । पछिल्लो ६ महिनादेखि उनीहरू निकट सम्बन्धमा थिए । शुशिला एकल महिला हुन् । उनका पतिको १५ वर्ष पहिले नै मृत्यु भएको थियो । उनका तीन छोरा रहेकामा तीनै जना रोजगारीका लागि विदेशमा छन् । एक जना दुबई, अर्का मलेसिया र अर्का भारतमा छन् ।
शुशिला र प्रेमको पछिल्लो समय भेटघाट बाक्लिएको थियो । प्रेम पटक पटक शुशिलाको घरमा आउने र शुशिला पनि प्रेमको घरमा गएको बस्ने गरेको खुलेको छ । प्रेम शुशिलाकोमा आउने र बस्ने गरेको थाहा पाएपछि छिमेकीले शुशिलालाई यस बारेमा सोधेका थिए । तर, उनले प्रेम आफ्नो भक्त भएको बताएकी थिइन् ।
शुशिला माताका रुपमा पनि चिनिन्थिन् । प्रेम धर्मकर्ममा लगाव राख्ने व्यक्तिका रुपमा चिनिन्थे । तर, गाउँलेहरूले नै शंका गर्न थालेपछि शुशिलाले अब आफूसँग विवाह गर्न दबाब दिएको प्रेमले प्रहरीलाई बताएका छन् । उनीसँग बिहे गर्नुपर्ने भएपछि हत्या गरेर उम्किन खोजेको उनको प्रारम्भिक बयान छ ।
हत्याको दुई दिन अघि नै प्रेम शुशिलाको घरमा आएर बसेका थिए । साउन २१ गते राति उनीहरुसँगै बसे । २२ गते बिहान उठेर उनी रिम्ना बजार, चाइनाबगरतिर घुमफिर गरेर साँझ पुनः शुशिलाकै घरमा फर्किए । त्यसरात शुशिलाले प्रेमसँगको सम्बन्धका बारेमा गाउँमा थाहा भएको बताउँदै बिहे गर्न भनिन् । तर आफूले बिहे गर्न सक्ने अवस्था नभएकोले हत्या गरेको प्रेमले बताएका छन् ।
फलामको तावा, सिलौटोर लोराले हानेको र सलले घाँटी कसेर हत्या गरेको खुलेको छ । हत्यापछि शुशिलाको मोबाइल पनि प्रेमले लिएर गएका थिए। उक्त मोबाइल पनि बरामद भएको डीएसपी पोखरेलले बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रुकुम पश्चिम, #लामाचौर
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्