ग्यालेक्सी फोरके टिभीको नियमित प्रशारण सुरु, रवी लामिछानेको कार्यक्रम सिधा कुरा

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले सुरु गरेको ग्यालेक्सी फोरके टीभीको नियमित प्रशारण शसक्रबारबाट सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कामय गर्न सञ्चारमाध्यमले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले तल्ला तहका गरिखाने वर्गको आवाजलाई मुखरित गर्दै उनीहरुको भाषा, संस्कृतिको जर्गेना गर्ने गरी काम गर्न टेलिभिजनलाई आग्रह समेत गरे । सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे ।
अध्यक्ष दाहालले तथ्य बङ्ग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको भन्दै सही, तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे । त्यस्तै, कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त सञ्चारमाध्यमको सफलताको कामना गरे ।
करिब ७ महिना अघि टिभीको घोषणा भएको थियो । शुभारम्भ कार्यक्रममा टिभीमा प्रशारण हुने केही कार्यक्रमहरुबारे जानकारी दिइएको छ । जसअनुसार रवीले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्नेछन् । यसअघि उनले न्यूज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका थिए । सोही नामको कार्यक्रम उनले ग्यालेक्सी टिभीमा निरन्तरता दिन खोज्दा विवाद भएका थियो । अहिले नाममा संसोधन गर्दै ‘जनतासँग’ हटाइएको छ ।
ग्यालेक्सी टिभीमा थुप्रै फ्रेन्चाइज रियालिटी शोहरु समावेश गरिएको छ । नायक राजेश हमालले ‘को बन्छ करोडपति’ कार्यक्रम चलाउनेछन् । अभिनेता दिपकराज गिरीको प्रस्तुतिमा भारतीय टेलिभिजनको फ्रेन्चाइजका रुपमा क्राइम पेट्रोल सञ्चालन हुने छ । यस्तै भारतीय टिभीकै फ्रेन्चाइज सारेगामप लिटल च्याम्प पनि प्रशारण हुने टेलिभिजनले जनाएको छ । यस्तै, वरिष्ठ सञ्चारकर्मी विजय कुमारले ९ बजे नामक टकशो सञ्चालन गर्नेछन् । यस्तै रमेश प्रशाइले पनि टक शो चलाउने भएका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #ग्यालेक्सी फोरके टीभीको नियमित प्रशारण, #रवी लामिछाने
तपाईको कमेन्ट लेख्नुहोस्