भेनेजुएलामा अमेरिकाका ‘जोकर र कठपुतली’ को सत्ता कू प्रयास विफल

काठमाडौ २६ फागुन । भेनेजुएलामा सत्तापक्ष र विपक्षको प्रदर्शन थप चर्किएको छ । विद्युत आपूर्ति बन्दसँगै बिभिन्न क्षेत्रमा परेको असरले एक अर्कामाथि आरोप लगाउँदै आएका सत्ता पक्ष र विपक्षी समर्थकले भेनेजुएलाभर व्यापक प्रदर्शन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति निकोलश मादुरो र विपक्षी नेता क्आन गुएडोको आह्वानमा चर्किदै गएको छ ।
राजधानी काराकासमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता गुएडोका समर्थक र प्रहरीबिच झडप भएको छ । प्रहरीले विपक्षी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार पनि गरेको छ । गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । त्यसयता राष्ट्रपति मादुरो र विपक्षी नेता गुएडो एक अर्का विरुद्धको प्रदर्शनमा लागे । बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि मादुरो र गुएडोले त्यसको जिम्मेवार एक अर्कालाई लगाएका छन् । ब्ल्याक आउटका कारण अस्पतालसहितका अत्यावश्यक क्षेत्रको सेवा प्रभावित भएपछि शनिबार प्रदर्शन भएको हो । विपक्षीको बाहुल्यता रहेको नेशनल एसेम्ब्लीका अध्यक्ष समेत रहेका गुएडोलाई अमेरिकासहितका ५० भन्दा बढी देशले अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् । तर मादुरोलाई देशको सेनाको साथ छ भने रुस र चीनसहितका देशले समर्थन गरिरहेका छन् । यहि कारण मादुरो सत्तामा टिकी रहेका छन् । काराकासमा भएको प्रदर्शनको क्रममा प्रहरीले गुएडोका समर्थकलाई अघि बढ्न दिएन । प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरे । प्रहरीले अश्रु ग्यास प्रहार गर्यो । त्यसपछि नेता गुएडोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू अब देश दौडामा लाग्ने र समर्थकलाई एकीकृत गर्ने बताएका छन् । त्यसपछि चाँडै नै काराकासमा भव्य प्रदर्शन गर्ने गुएडोले घोषणा गरेका छन् ।
भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot
तपाईको कमेन्ट लेख्नुहोस्