राहातका नाममा राजनीतिक झण्डा,बाढी पिडितको घाउमा मलम होइन नुन,चुक

जहाँ पनि राजनीति घुसाउनै पर्ने । आफनै पार्टीको ब्यानर र नेताहरुको गुनगान गाउनै पर्ने । एकले अर्कोलाई गाली गर्नैपर्ने । ब्यानर च्यात्नै पर्ने । कार्यकर्ताबीच झडप हुनैपर्ने । यो दुभाग्र्य हरेक ठाउँमा देखिइरहेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची क्षेत्रमा मंगलबार रातिको बाढी र डुवानले यहाँ तीन जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी मानिस बेपत्ता छन् । त्यहि बिपत्तीको मारमा परेका नागरिकलाई राहात र साहानुभूति दिन पुगेका नेता कार्यकर्ताको यो घिनलाग्दो गतिबिधिले तपाई हामीलाई नै लज्जित बनाएको छ ।
बिपदको पीडामा परेका यी नागरिकले यो हर्कत देख्दा के सोचे होलान । यहाँ त बाढी पहिरोको पीडामा परेका जनतामाथि राजनीति गर्ने खेलो चलिरहेको छ । जनतालाई राहात भन्दापनि आहात दिने गरी अस्तब्यस्त बनेको भूमिमा पुगेर रमिता देखाउनु नै दुर्भाग्य हो । जुनसुकै दलका नेता हुन या कार्यकर्ता राहातका नाममा राजनीति गर्ने छुट कसैलाई छैन् । हुनत् यहाँ दैविप्रकोपबाट सर्तकता अपनाउन कुनै तयारी गरिदैन । भौगोलिक अवस्थाको अध्ययन पनि गरिदैन । केन्द्रदेखि जिल्लासम्म दैबिप्रकोप उद्धार, राहात ब्यवस्थापनका नाममा सयौं सरकारी तथा गैरसरकारी संयन्त्रले भत्ता पचाउने काम गरिरहेका छन् । दुर्घटना भयो भने हतार हतार बैठक बस्ने र योजना बनाउने काम सुरु गर्छन् । अरु बेला यसबारे छलफल नै हुदैन ।
पीडामा परेका जनतालाई दर्जनौ हेलिकप्टर त्यो पनि अनावश्यक भिड लिएर रमिता हेर्न पुग्नेहरुको कमी छैन् । राहात र उद्धार भन्दापहिले पार्टीको झण्डा बोक्ने, झण्डा टास्ने काम यहाँ हुदै आएको छ । पार्टीका नेता तथा कार्यकर्ता मात्रै होइनन यहाँ राहातका नाममा अफवाह फैलाउने, दुई रुपैयाको राहात वितरण गरेर हजारौंको तुच्छ गाली र समाज भड्काउनेहरुको पनि कमी छैन् । कसैले भनेर होइन पद दिएर पनि होइन आफैलाई स्वघोषित अभियान्ता बताउने झुण्डहरुकै कारण पनि पीडितको घाउमा मलम होइन नुन चुक छर्किने काम भइरहेको छ ।
केही सच्चा, मनकारी सहयोगि पनि छन् । उनीहरुलाई न ब्यानरको चिन्ता छ न त फोटोको चिन्ता छ बस् पिडितलाई राहात मात्रै दिनेहरु नभएका होइनन् । तर, अन्य झुण्डहरुले ती ब्यक्ती ओझेलमा परिरहेका छन् । किनकि राज्य संयन्त्र बलियो भइदिएको भए यहाँ यो बेथिति आउने नै थिएन । सरकारमा बस्नेहरुले जनताको घाउमा मलम लगाउन तदारुकता देखाउने हो भने उनीहरुको दुखमा साथ दिनेगरी राहात, उद्धार र ब्यवस्थापनमा ध्यान दिने हो भने पक्कै पनि न राहातमा राजनीतिक ब्यानर टासिने थियो । न त कार्यकर्ता कार्यकर्ताबीचमै झडप हुने थियो । जनताको पीडा र आँसुमा राजनिति गर्न बन्द गरौं ।
क्याटेगोरी : प्रमुख समाचार, विचार/लेख, सम्पादकीय
ट्याग : #राहातका नाममा राजनीतिक
तपाईको कमेन्ट लेख्नुहोस्