Techie IT
  • १७ भदौ २०८३, बुधबार
KhojPatrika

क्लिन अप नेपालको १३औँ साधारणसभा सकियो, पारदर्शिता र जवाफदेहितामा जोड


काठमाडौं । वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३ औँ वार्षिक साधारणसभा काठमाडौंमा सकिएको छ । संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गर्दै साधारणसभा सकिएको हो ।

साधारणसभामा क्लिन अप नेपालका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था तथा संस्थाका कर्मचारीसहित करिब ४० जनाको सहभागिता रहेको थियो ।

विभिन्न सरोकारवाला निकायको उपस्थितिले संस्थाका कार्यक्रम तथा गतिविधिमा बहुपक्षीय सहकार्य र जवाफदेहिताको महत्वलाई समेत प्रतिबिम्बित गरेको थियो । क्लिन अप नेपालका अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाकी सचिव प्रार्थना न्यौपानेले गरेकी थिइन । साधारणसभाले आर्थिक वर्ष २०८२र८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समग्र समीक्षा गरेको थियो । समीक्षा क्रममा संस्थाको प्रगति, प्रमुख उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो ।

यसले संस्थाका गतिविधिलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै लैजान आवश्यक विषय पहिचान गर्ने अवसर प्रदान गरेको संस्थाले जनाएको छ । कार्यक्रममा क्लिन अप नेपालकी कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, सुजन एस. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका प्रमुख कार्यक्रम, उपलब्धि, संस्थागत विकास, साझेदारी तथा आगामी प्राथमिकताबारे जानकारी गराए । त्यसैगरी, सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताका विषयमा जानकारी गराए ।

साधारणसभामा प्रतिवेदन प्रस्तुतिका साथै सदस्य तथा सरोकारवालाहरूबीच संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा छलफल समेत भएको थियो । आर्थिक तथा वित्तीय पक्षको लेखापरीक्षण, संस्थागत प्रगति प्रतिवेदन र सामाजिक परीक्षणलाई साधारणसभाको प्रक्रियामा समेटिनुले क्लिन अप नेपालले आफ्नो संस्थागत सुशासन र जवाफदेहितालाई महत्व दिँदै आएको सन्देश दिएको छ ।

वक्ताहरूले क्लिन अप नेपालले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं