मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
काठमाडौं । मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा संभावित जोखिमको त्रास देखिन्छ । पाँच वर्ष अघिको बाढीले खण्डहर बनाएका संरचना अझै पनि बगरको बीचमा देखिन्छन् । बसोवास गर्न पनि नमिल्ने र पूरै नभत्किएका घरहरु बगरको बीचमा ठडिएको देख्दा उनीहरुको मन वेचैन हुन्छ । आकाशमा कालो बादल मडारिएसँगै संभावित जोखिमको भयले मनमा डेरा जमाउँछ ।
पाँच वर्ष अघिको मेलम्ची–इन्द्रावती बाढीमा आठ सय ६२ परिवार प्रभावित हुँदा चार सय ९८ मिलियन अमेरिकी डलर बराबर नोक्शानी भयो । सरकारले मात्रै नभई धेरै संघसंस्थाले यो बाढीको अध्ययन गरे । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको प्रारम्भिक अध्ययनले लगभग ६ सय मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ लगभग ६० अर्ब बराबरको क्षति भएको देखाएको छ ।
त्यसैगरी, प्रकृति रिसोर्सेस सेन्टरले गरेको अध्ययनले बाढीबाट प्रतिपरिवार ६२ लाख नेपाली रुपैयाँ हानि–नोक्शानी भएको देखाएको छ । यो प्रभावित परिवारले गुमाएको घरखेत तथा अन्य विभिन्न आर्थिक हानि–नोक्शानी संकलन गरेर निकालिएको आँकडा हो । नेपालले जलवायु–प्रेरित हानि र क्षति सम्बन्धी राष्ट्रिय रूपरेखा र धेरै नीतिहरू बनाएको भएपनि नीतिले दीर्घकालीन जीविकोपार्जनको क्षति र गैह्र–आर्थिक प्रभावलाई पर्याप्त रुपमा सम्बोधन गर्न सकेका छैनन् । पुनर्लाभ संयन्त्रहरू धेरै राहत–उन्मुख छन् ।
मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका एक सय २० घरधुरीमा गरेको अध्ययन अनुसार ८५ प्रतिशत प्रभावितले मनोसामाजिक समस्या भोगिरहेका छन् भने ५८ प्रतिशतमा सांस्कृतिक तथा धार्मिक स्थलको क्षति पुगेको छ । ७० प्रतिशतमा डिप्रेसन र ५७ प्रतिशतमा चिन्तासम्बन्धी लक्षण देखिएका छन् । मठ–मन्दिर, पूजा–पर्व र सामूहिक पहिचानसँग जोडिएका अभ्यासमा आएको अवरोधले समुदायको सामाजिक संरचनामै असर पारेको छ । तर यस्ता मनोसामाजिक र सांस्कृतिक क्षतिलाई सम्बोधन गर्न राज्यसँग स्पष्ट नीति, बजेट र संस्थागत जिम्मेवारी देखिँदैन ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावितलाई वितरण गरेको राहतको विवरणमा अत्यन्तै न्युन संख्यामा रहेका घरपरिवारले मात्रै सरकारले प्रदान गर्ने तीनवटै किस्ता प्राप्त गरेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा २३ परिवार लाभग्राही कायम भएकामा तेस्रो किस्ता प्राप्त गरेका जम्मा ११ परिवार मात्रै छन् ।
मेलम्ची नगरपालिकाको वडा नम्बर १० मा अहिले जमिन सम्याएर खेतीयोग्य बनाउने प्रयास शुरु गरिएको छ । नदी किनारको जग्गा झन्डै १५ फिट बालुवा र गेग्रानले पुरिएको छ । बाढीले मेलम्ची नगरपालिकाको कृषियोग्य जमिन लगाएको बालीनालीमा पनि ठूलो क्षति पु¥यायो । बाढीले १ हजार ८ सय ८२ रोपनी खेतीयोग्य जमिन बगायोे । ३ सय ९३ किसानको बालीमा क्षति पुग्यो । नगरपालिकाले बाढी प्रभावित किसानलाई तत्काल १० हजार रुपैयाँका दरले राहत उपलव्ध गराएको थियो ।
क्षतिको तुलनामा यो राहत अत्यन्तै न्युन हो । अहिले भने नगरपालिकाकाले व्यवसायीक कृषि पुर्नस्थापनाका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ । बाढीबाट ठूलो नोक्शानी भएकाले दीर्घकालिन पुनरुत्थानका योजना नहुँदा प्रभावितको दैनीकी कष्टकर बन्दै गएको छ । राधादेवी तामाङ घरजग्गा विहिन आफू जस्ताले तात्कालिन अवस्थामा चामल लगायत खाद्यान्न पाएपनि त्यसपछि केही नपाएको गुनासो गर्छिन । विष्णुबहादुर माझी माछा मारेर जीविका चलाउदै आएका थिए । हिजो आज मेलम्चीमा माछा पाइँदैन । उनको दैनिकी पनि कष्टकर बनेको छ ।
सरकारी नीतिका कारण मेलम्ची बाढी प्रभावितले पुनर्निर्माणको पूरा रकम पाउन सकेका छैनन् । बाढीको सबैभन्दा बढी मार मेलम्ची नगरपालिकावासीले खेपे । बाढीले स्थानीय जनजीवन, भौतिक संरचना र आर्थिक गतिविधिमा गहिरो असर पा¥यो । आवासीय घरहरूदेखि कृषि जमिन, व्यवसाय र सांस्कृतिक संरचनासम्म व्यापक क्षति हुँदा धेरै परिवार विस्थापित भए र दीर्घकालीन असर झेल्न बाध्य बने । बाढी प्रभावितहरु केही काठमाडौमा स्थानान्तरण भएका छन् भने केही मेलम्चीमा नै पुनःस्थापित हुन खोजिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्