Techie IT
  • १ असार २०८१, शुक्रबार
KhojPatrika

सन्दीप लामिछानेले पाए बलात्कारको मुद्दामा सफाइ, आफूलाई फसाएको जिकिर (भिडियोसहित)


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो । ५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित (गौशला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् ।

बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् । नगरकोट गएकोदेखि सिनामंगलको होटलमा एउटै कोठामा बसेको स्वीकार गरेका सन्दीपले बलात्कार आरोप भने अस्वीकार गरेका थिए ।

पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा उनी र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने निष्कर्ष निकालेको थियो । यद्यपि न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका थिए । घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने स्वीकार गरेन ।

आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो । पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले उनलाई सफाइ दिएको छ । उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी ग¥यो ।

२० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुषमा २० लाख धरौटीमा छाड्यो । त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले । जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् ।

लामो सुनुवाई प्रक्रिया पुरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो । लामो समयपछिको कानुनी लडाईँपछि अन्तत सन्दिपले सफाई पाएका छन् । उनले सफाई मात्र पाएनन् विश्व्कप खेल्ने ढोका पनि खुलेको छ । लामिछानेलाई टि–२० विश्वकप खेल्ने पहिलो ढोका खुलेको हो । क्यानले निलम्बन फुकुवा गरेर आइसीसीको सहमति लिएपछि उनले विश्वकप खेल्न पाउनेछन् । जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेल्नबाट उनलाई प्रतिबन्ध लगाएको थियो ।
आफूलाई फसाएर नभएको अपराधको दोषी करार गरियो
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको बताएका छन् । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि उनले समर्थक माझ यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आफूले पहिलो दिन देखिनै आफू निर्दोष छु भनिरहेको पनि बताए ।

लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताए । उनले नेपाललाई क्रिकेटमार्फत आफूले जुन उचाइसम्म पुर्‍याएको हो, त्यसभन्दा पनि माथि पुर्‍याउन प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । फैसलासँगै नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन पनि फुकुवा गरिसकेको छ ।




क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #क्रिकेटर सन्दीप लामिछाने, #प्यालेस होटल, #सन्दीप लामिछाने

तपाईको कमेन्ट लेख्नुहोस्