Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

संसदमा ज्ञानेन्द्र शाही र माधव सापकोटाको जुहारी,राजतन्त्र र गणतन्त्रको वकालत !


काठमाडौं । पहिलो पटक संसदमा छिरेका नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा र राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीबीच संसदमा केहीदिनदेखि घोचपेज चलिरहेको छ । युवा जोश र जाँगर लिएर संसद छिरेका सापकोटा गणतन्त्रबादी र शाही राजाबादी हुन् । तर, दुबैले आइतबार नेपालको संविधान हातमा लिएर एक अर्कोमाथि कडा टिप्पणी गरे । जहाँ शाहीको बोलीमा माओवादी नेता हितराज पाण्डेले नियमापत्ति जनाउँदा कांग्रेस सांसद सुनिल थापाले आपत्ति जनाएका थिए ।

पछिल्लो प्रतिनिधिसभाको चार वटा बैठक हेर्ने हो भने प्रतिपक्ष दलका सांसद र नेकपा माओवादी केन्द्रका सांसदबीच जुहारी चलिरहेको छ । नेकपा एमालेले बालकुमारी घटना र भ्रष्टाचारको बिषयलाई लिएर चार मन्त्रीको राजीनामा मागिरहेको छ । रास्वपा र राप्रपाले भने भौतिकमन्त्री प्रकाश ज्वालाको मात्रै राजीनामा जोडतोडले उठाइरहेको छ । हरेक बैठकको सुरुमा एमालेले राजीनामा माग्ने र सभामुख देवराज घिमिरेले कर्मकाण्डी जस्तो रुलिङ गर्ने काम भइरहेको छ । तर, माओवादी केन्द्रका सांसद र राप्रपाका सांसदको जुहारी भने अर्कै छ ।

राजतन्त्र नै फर्काउछौं भन्दै ब्यवस्थाबिरुद्ध बोल्दै आएको राप्रपा र गणतन्त्रबादी माओवादी आमनेसामने भइरहेका छन् । खासगरी माओवादी सांसद माधव सापकोटा र राप्रपा सचेतक ज्ञानेन्द शाहीबीच बादविवाद चलिरहेको छ । शुक्रबारको बैठकमा संसदमा बोलेको कुरा सरकारले नसुन्ने भए रत्नपार्कमा गएर बोले भैहाल्यो नी भन्ने शाहीको भनाईमा सापकोटाले राजीनामा दिएर सडकमा जान सुझाव दिएका थिए ।

आइतबार शाही भन्दा अघि बोलेका सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गरिने भनी लेखिएको र ब्यवस्थाबिरोधी बहस हुन नसक्ने भन्दै राप्रपामाथि कटाक्ष गरे । शुक्रबार जवाफ दिन नपाएका राप्रपा सचेतक शाहीले आइतबार गरेको कटाक्षको पनि जवाफ कविता मार्फत दिए ।

शाहीले संविधान पल्टाएर व्यवस्था नै उधृत गरेर प्रचलित व्यवस्थामाथि बहस गर्न पाइने र कसैले सांसदको राजीनामा माग्न नपाउने बताए । सचेतक शाहीको अभिब्यक्तीलाई लिएर माओवादी सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । तर, सत्तारुढ कांग्रेसकै सांसद सुनिल शर्माले ज्ञानेन्द्र शाहीलाई साथ दिएपछि माओवादी हच्कियो ।

सत्तापक्षकै सांसद आफ्नो विपक्षमा उभिएपछि पाण्डे आफ्नो स्थानमा बसे । त्यसपछि पनि ज्ञानेन्द्र शाहीले लगातार माओवादीप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिएका थिए । पहिलो पटक संसदमा छिरेका शाही र सापकोटाले यसअघि पनि पटक–पटक संसदमा जुहारी खेल्दै आएका छन् ।


क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ज्ञानेन्द्र शाही, #माधव सापकोटा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं