माओवादी महासचिव देव गुरुङ र बैकल्पिक सदस्य गोर्खबहादुर केसीको टकराव, के हो विवाद ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई कर्णालीका भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा हिनामिना गरेको गम्भिर आरोप लागेको छ । माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसी (सन्देश) ले महासचिव गुरुङमाथि शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
रुकुम पश्चिमका केसीमाथि गत २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले राहत लिएर पुगेकी चिनियाँ अधिकारीमाथि हातपात भएको घटनामा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीले सोधेको स्पष्टीकरणको ५ माघमा जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि उल्टै अनियमितताको आरोप लगाउँदै छानबिनको माग गरेका छन् । ‘मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको लोग्ने भएको र यी एकाघरका नातेदार रहेको तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस्’, केसीले पार्टीलाई लेखेको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि गत २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो । घटनामा संलग्नताको आरोप लागेका माओवादी केन्द्रका नेता केसीले चिनियाँ महिलाले आफ्नो विषयमा अनर्गल भाषणबाजी गरेपछि आफ्नो निर्माण कम्पनीमा कार्यरत भान्से अमर खत्रीले हातपात गरेको स्वीकार गरेका छन् ।
भूकम्प गएको तीन दिनपछि माओवादी केन्द्रका महासचिव गुरुङ चिनियाँ संस्थाकी निर्देशक सोउ नेतृत्वको टोलीसँगै राहत सामग्री लिएर जाजरकोट र रुकुमपश्चिम पुगेका थिए । घटनामा संलग्नताको आरोप लागेका माओवादी केन्द्रका नेता केसीले चिनियाँ महिलाले आफ्नो विषयमा अनर्गल भाषणबाजी गरेपछि आफ्नो निर्माण कम्पनीमा कार्यरत भान्से अमर खत्रीले हातपात गरेको स्वीकार गरेका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणमा केसीको जवाफ
माओवादी केन्द्रको गत २८ पुसमा बसेको स्थायी समिति बैठकले घटनाबारे केसीसँग स्पष्टीकरण माग गरी आवश्यक कारवाहीको निर्णय गरेको थियो ।केसीले घटनाको विवरणसहित पार्टीलाई जवाफ लेखेका छन् । केसीले उक्त कुटपिटको घटना आकस्मिक भएको भन्दै कारबाही नगरी नहुने लागेको भए अरू नै उपाय रोज्न महासचिव गुरुङ र माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीलाई सुझाव दिएका छन् । ‘महासचिव कमरेड र बिमलालाई मलाई कारवाही नगरी नहुने भन्ने लागेको छ भने अरू नै उपाय खोज्नु’, उनले लेखेका छन् ।
चिनियाँ महिलाले आफ्नो केही दूरीमा रहेर अंग्रेजीमा भाषण गरेको र त्यहाँ रहेका अन्य मजदुरले उनले बोलेको केही नबुझी सुनिमात्रै रहेको केसीले उल्लेख गरेका छन् । आफ्नो भान्सेले १२ कक्षा पढ्दै गरेको र अंग्रेजीमा गरेको भाषण बुझेपछि हातपात गरेको उनले स्वीकार गरेका छन् । तर आफूलाई उसले हातपात गर्छ भन्ने पूर्वानुमान नभएको र रोक्न नसकेको केसीको भनाइ छ ।
म अलि पर कुुर्सीमा बसिरहेको मानिसले एकाएक प्रहार गर्नेलाई कसरी रोक्नु ? भाषण सुनेर चुपचाप उभिरहेको त्यो केटो भित्रभित्रै रिसाइसकेको छ र त्यसले आक्रमण गर्छ भनेर मैले कसरी थाहा पाउने ? कसरी रोक्ने ? ’, केसीले स्पष्टीकरणमा उल्लेख गरेका छन्, ‘अध्यक्ष कमरेड यो प्रकारले हुने घटनालाई रोक्ने कुनै उपाय भएको भए मलाई बताइदिनु ।’ मानिसको मनोविज्ञान बुझ्न नसकेकै कारण अघिल्ला महिनामा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार रोक्न नसकिएको भन्दै केसीले लेखेका छन्, ‘त्यति ठूला नेताहरुलाई त राज्य संयन्त्रले जोगाउन सकेन ।
म यो पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कसरी जोगाउन सकुँला ? ’ आकस्मिक घटना नरोकेको भनेर कारवाही गर्न खोज्नु हाँस्यास्पद भएको पनि केसीले उल्लेख गरेका छन् । उनले जवाफमा घटनाको पृष्ठभूमिबारे पनि विस्तृतमा उल्लेख गरेका छन् । घटना भएको दिन बिहान अस्थाई आवास निर्माणमा सहजिकरण गर्दै आफ्नो घरमा पुग्दा चिनियाँ टोलीले सामान अनुगमन गरिरहेको र आफूले उक्त सामान कहिले हटाउने भनेर सोधपुछ गरेको बताए । ‘माधव नेपालले प्याकेजमा सोलार सिस्टम पनि छ’ भनेकाले त्यसका बारेमा समेत सोधेको र त्यत्तिकैमा गाडीबाट एक जना महिला झरेर झर्किएको उल्लेख गरेका छन् ।
चिनियाँ अधिकारीले कुनै गुनासो भए भन्न अनुरोध गरेपछि आफूले ‘नेपाली साझेदारले राम्रो काम नगरेको, राहत सामग्रीको गुणस्तर नभएको, भनेअनुसार सोलारलगायत सामान नभएको र सामान बुझेको नक्कली भर्पाइ बनाएर सामान वितरण गरेको’ लगायत विषय राखेको केसीको भनाइ छ । त्यसपछि ती महिलाले गुनासो नसकिँदै आफूमाथि झम्टिन खोजेको र आफू पछि हटेर कुर्सीमा बसेको उनले उल्लेख गरेका छन् ।
चिनियाँ अधिकारीले त्यहाँ पनि बस्न नदिएर बाहिर जान भनेको, तर आफ्नो घर भएकाले आफू बाहिर जान नमानेको विषय पनि उनले जवाफमा लेखेका छन् । त्यसपछि चिनियाँ महिलाले त्यहाँ राखिएको सामान निकालेर नजिकैको प्रहरी चौकीमा राख्न भनेको र भाषण गरेर आफूमाथि विभिन्न आरोप लगाएपछि आफ्नो निर्माण कम्पनीमा कार्यरत भान्से र ड्राइभरलगायत कर्मचारीबाट उक्त घटना हुन पुगेको केसीले स्पष्टीकरण दिएका छन् ।
महासचिव गुरुङमाथि केसीका आरोप
केसीले पार्टीलाई लेखेको स्पष्टीकरणमा महासचिव देव गुरुङमाथि पनि आरोप लगाएका छन् । नातेदारको प्रयोग गरी राहतमा हिनामिना गरेको आरोप केसीको छ । भूकम्प गएको भोलिपल्ट १८ मंसिरमा गुरुङसँगै प्रदेश अध्यक्ष विमला केसी आफ्नो घरमा बस्न आएको दिन उनीहरूले नै दिने संस्थाका प्रतिनिधि मरासिनीसँग चिनजान गराएको वैकल्पिक केन्द्रीय सदस्य केसीले बताएका छन् । रुकुम पश्चिमको आठबिसकोटका लागि भनेर छुट्याएको राहत पनि गुरुङ र प्रदेश अध्यक्ष बिमला केसीको मिलेमतोमा जाजरकोटको नलगाड गाउँपालिका र रुकुमकै सानीभेरी गाउँपालिका पठाइएको, तर भर्पाइ भने आठबिसकोटकै बनाएको उनको आरोप छ ।
राहतका प्याकेज मुख्य चारवटा पार्टी कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीलाई ५०० वटाका दरले वितरण गर्ने भनी भागबण्डा गरेको र त्यसमा जथाभावी भर्पाइ बनाइ राहत वितरण गरिएको आरोप उनले लगाएका छन् । यस विषयमा मरासिनीलाई अगाडि राखेर जानकारी गराए पनि गुरुङले कुनै कदम नचालेको, बरु त्यस विषयमा मरासिनीले मिलेर राहत हिनामिना गर्न सुझाव दिँदा गुरुङले कुनै प्रतिक्रिया नजनाएको केसीले उल्लेख गरेका छन् । ‘अरू पार्टीले मजाले खाएका छन्, खान जानेका छन् ।
तपाईंहरू खान नजानेर यत्रो सानो पार्टी भएको छ । खानुपर्छ कमरेड, हामीलाई कसैको भर्पाइ दिनुस्, समान बुझेर लानुस् र मजाले खानुस् । उनले निस्फिक्री कसरी खान र लुट्न सकिन्छ भनेर प्रशिक्षण चलाउन थाले’, केसीले स्पष्टीकरणमा भनेका छन्, ‘मेरा आस्थाका धरोहर महासचिव कमरेडले त्यो मरासिनीलाई मज्जाले हप्काउलान् भनेको त मख्ख परेर सुनेका छन् । मैले यस्तो नांगो लुटपाटको सल्लाह कहिल्यै देखेको सुनेको थिइनँ । महासचिव कमरेड त्यो रात सम्झिनुस् ।
मातृका यादव दाइ अर्कै कोठामा हुनुहुन्थ्यो । मलाई लाग्छ उहाँ त्यहीँ भएको भए मरासिनीको सातो जान्थ्यो ।’ केसीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिएको जानकारीअनुसार ५० लाख युआनको सहयोग नेपाली रुपैयाँ ९ करोड २० लाख बराबरको हुने र त्यसलाई चारवटा राजनीतिक दलबीच भागबण्डा गर्दा प्रतिपरिवार चालिस हजार रुपैयाँको प्याकेज हुनुपर्नेमा १० हजार मूल्य बराबरको राहत पनि नपुगेको उल्लेख गरेका छन् । महासचिव गुरुङले सोही दिन बिहान त्यसबाट पनि घटाएर २३ हजारको प्याकेज हुने बताएको उनको भनाइ छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गोर्खबहादुर केसी, #देव गुरुङ, #भूकम्प पीडितका लागि चीन सरकार
तपाईको कमेन्ट लेख्नुहोस्