Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

राष्ट्रिय सभा कर्णालीका उम्मेद्वार जाजरकोटमा, मतदाता र नेताहरुसँग छलफल !


काठमाडौं । कर्णाली प्रदेशका राष्ट्रिय सभा उम्मेद्वारले जाजरकोटमा छलफल गरेका छन् । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशका सत्ता गठबनधनका उम्मेद्वार छलफलका लागि जाजरकोट पुगेका हुन् ।

गठबन्धनका उम्मेद्वार कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रका बिष्णुबहादुर विक र नेकपा एकीकृत समाजवादीका साबित्रि मल्लले जाजरकोटका मतदाता र जिल्लाका नेताहरुसँग छलफल गरेका हुन् । उनीहरुले कर्णालीका बिभिन्न जिल्लामा पुगेर प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुसँग भेटघाट र छलफल गर्ने क्रममा जाजरकोट पुगेको बताएका छन् ।

मंगलबार जाजरकोटमा मतदाता र जिल्लाका नेताहरुसँग छलफल गरेको बताइएको छ । यसअघि सत्ता गठबन्धनका उम्मेद्वारले दैलेख, सल्यान र रुकुमपश्चिमका मतदाता र नेताहरुसँग पनि छलफल गरेका थिए ।
कर्णालीमा मतभार गठबन्धनको पक्षमा
सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक÷एक सिटका लागि चुनावी मैदानमा उत्रिएका छन् । माओवादीले कर्णालीमा कालीकोटका विष्णु बिकलाई दलित क्लस्टरबाट उम्मेदवार बनाएको छ । कांग्रेसले प्रदेश महामन्त्री समेत रहेका रुकुम पश्चिमका कृष्णबहादुर रोकायालाई उम्मेद्वार बनाएको छ भने एकीकृत समाजवादीले महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ ।

चुनावमा एक्लै भिड्न लागेको नेकपा एमालेले कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाएको छ । स्थानीय तह प्रमुख उपप्रमुख र प्रदेश सभा सदस्यहरु मतदाता हुने यो मतदानको नजिता मतभारका आधारमा हुन्छ । जसअनुसार प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख ÷उपप्रमुखको १९ मतभार तोकिएको छ ।

७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिका गरी १५८ जना मतदाता रहेका छन् । जसमध्ये महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ्ग र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदान गर्ने छन् । जसको मतभार २ हजार ९६४ हुँन आउँछ । प्रदेश सभातर्फ ४० जना सदस्य छन् । जसको मतभार २ हजार १२० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी कर्णालीमा जम्मा पाँच हजार ८४ मतभार हुन आउँछ ।

कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १५ जना सदस्य छन् । जसको मतभार ७५९ हुन आउँछ । स्थानीय तहतर्फ नेपाली कांग्रेसबाट ३३ पालिका प्रमुख (नगर प्रमुख र गाउँपालिकाका अध्यक्ष) र २६ जना उपप्रमुख र उपाध्यक्ष गरी कुल ६९ स्थानीय जनप्रतिनिधि मतदाता छन् । जसको मतभार एक हजार ३११ हुन आउँछ । यसरी हेर्दा राष्ट्रिय सभामा नेपाली कांग्रेस एक्लैको २ हजार ७० मतभार छ ।

दोस्रो ठूलो दल माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा १३ जना सदस्य छन् । जसको मतभार ६८९ हुन्छ । स्थानीय तहतर्फत माओवादी केन्द्रले नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी ४८ रहेको छ । जसको मतभार ९ सय १२ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहको कुल मतभार एक हजार ६०१ छ ।

एमालेले कर्णाली प्रदेश सभामा १० सिट जितेको छ । जसको मतभार ५३० हुन आउँछ । स्थानीय तहतर्फ एमालेले नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षगरी ३५ जना निर्वाचित भएका छन् । जसको मतभार ६६५ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहका गरी एमालेसँग एक हजार १९५ मतभार छ ।

एकीकृत समाजवादीबाट कर्णाली प्रदेश सभामा एक जनाको उपस्थिति छ । यस्तै स्थानीय तहतर्फ नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षगरी १० जना निर्वाचित भएका छन् । प्रदेश सभा सदस्य एक जनाको ५३ र स्थानीय तहतर्फबाट १९० गरी २४३ मतभार उसको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश सभामा एक जनाको प्रतिनिधित्व छ । स्थानीय तहतर्फ शून्य छ । राप्रपाको मतभार राष्ट्रिय सभामा ५३ हुनेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं