Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

राष्ट्रियसभाका कर्णाली प्रदेशका उम्मेद्वार मत माग्न रुकुमपश्चिममा, जिल्लाका नेताहरुसँग समेत छलफल !


काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशका गठबनधनका उम्मेद्वार रुकुमपश्चिम पुगेका छन् । राष्ट्रिय सभामा उम्मेद्वार बनेका नेपाली कांग्रेसका तर्फबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाको गृहजिल्लामा गठबन्धनका उम्मेद्वार मत माग्न पुगेका हुन् । उम्मेद्वार रोकायासँगै नेकपा माओवादी केन्द्रका तर्फबाट बिष्णुबहादुर विक र नेकपा एकीकृत समाजवादीका तर्फबाट साबित्रि मल्लले तीन वटा नगरपालिकाका प्रमुख र उपप्रमुख अनि तीन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँग छलफल गरेका हुन् ।

मुसिकोट नगरपालिकामा आइतबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्लाका ६ वटै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति रुकुमपश्चिमकी प्रमुख लुम्बीनी गौतम केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका गठबन्धन दलका नेताहरुको सहभागिता थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले गठबन्धनका उम्मेद्वारलाई जिताउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा आठविसकोट नगरपालिकाका प्रमुख रवि केसी, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर बिष्ट, त्रिबेनी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी र बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक बाँठाले गठबन्धनका उम्मेद्वारलाई जितको शुभकामना दिएका थिए । मतदाताहरुले प्रभावकारी काममा लागि अपेक्षा गरेको समेत बताएका थिए ।

गृहजिल्ला पुगेका राष्ट्रियसभाका उम्मेद्वार कृष्णबहादुर रोकायाले आफू कर्णाली प्रदेशका दश वटै जिल्लाको उम्मेद्वार रहेको बताए । उनले धेरैपछि रुकुमपश्चिम कांग्रेसले टिकट पाएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

सत्ता गठबन्धनका साझा उमेद्वारहरुले कर्णालीका बिभिन्न जिल्लामा पुगेर प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुसँग भेटघाट र छलफल गरिरहेका छन् । सत्ता गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउन आफूहरु लाग्ने जिल्लाका नेताहरुले पनि प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रुकुमपश्चिमका सचिव परमेश्वर भण्डारीले गरेका थिए । यसअघि सत्ता गठबन्धनका उम्मेद्वारले दैलेख र सल्यानका मतदाता र नेताहरुसँग पनि छलफल गरेका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #६ वटै स्थानीय सरकार, #महामन्त्री कृष्णबहादुर रोकाया, #माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, #रुकुमपश्चिममा

तपाईको कमेन्ट लेख्नुहोस्