सांसदलाई १० करोडको अफर, पुष्टि गर्लान् त राजेन्द्र लिङ्देन ?

काठमाडौं । नेपालको संसदीय राजनीतिमा बेला–बखत सांसद किनबेच भयो भन्ने आरोप र हल्ला चलिरहन्छन् । तर, नेताहरुले कहिँ कतै पुष्टि गरेको भने देखिदैन् । सांसदलाई करोडौं रकम दिने देखि मन्त्री बनाउने अफर भित्र–भित्रै चल्छ पनि भनिन्छ । पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेशसभा सदस्यहरुको घरदैलोमै गएर मन्त्री र रु १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला केटीएमसम्मै आइपुग्यो त । जस्ताको त्यस्तै राखिएको यो भनाई हो संसदको पाँचौ दल राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनको । कोशी प्रदेश सभामा निर्णायक शक्ति मानिएको राप्रपाका अध्यक्ष लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास गरिरहेको खुलासा गरेका छन् ।
शनिबार दिउँसो लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दावी गरेका हुन् । अध्यक्ष लिङदेनले काठमाडौंसम्मै हल्ला आइपुगेको भन्दै सामाजिक सञ्जालमा राखिएको अभिब्यक्तीले यतिबेला तरंग ल्याइदिएको छ । उनले कोशी प्रदेशमा कुन पाटीका सांसदलाई अफर आयो भन्ने खुलाएका त छैनन् । तर, सहजै बुझ्न सकिन्छ निरन्तर राप्रपाका ६ सांसदलाई आफ्नो पक्षमा ल्याउन सत्तारुढ दलहरुले दौडधुप गरिरहेकै छन् । राप्रपाका सांसदलाई फकाउने प्रयास गर्नु र अध्यक्ष लिङ्देनले १० करोड र मन्त्रीको अफर लेख्नुले संयोग मात्रै मान्ने अवस्था देखिदैन ।
राप्रपाले मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत नदिने भएपछि सांसद खरिद गर्न खोजिएको आरोप अध्यक्ष लिङदेनको छ । मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने तय भएको छ । तर, गठबन्धनसँग अहिलेसम्म ४७ सीटको बहुमत भएपनि उपसभामुख एमालेको सृजना दनुवार हुन् । उनी अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका जेष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नासाथ बहुमत पु¥याउन हम्मे–हम्मे पर्ने देखिन्छ ।
राप्रपाको कोशीमा मात्र सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने अडान कायमै छ । साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् । एक मत मात्रै तलमाथि भयो भने उद्धव थापा नेतृत्वको सरकार ढल्ने देखिन्छ । सरकार बचाउन कांग्रेस, माओवादीका नेताको दौडधुप जारी छ । जसरी राप्रपा अध्यक्ष लिङ्देनले सत्ता पक्षलाई सांसद खरिद गर्न खोजेको आरोप लगाएका छन् । त्यसको पुष्टि भने गर्नै पर्नेछ ।
किनकि सत्ता बचाउन मन्त्री मात्रै होइन १० करोडको अफरले नेपाली राजनीति थप दुषित र बद्नाम हुने निश्चित छ । १० करोडमा सांसद खरिद गर्न खोज्नेमाथि कानुनी कारवाही हुनैपर्छ । हल्ला काठमाडौंसम्म पुग्यो भन्दै सामाजिक सञ्जाल तताउने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्टि गर्न नसके उनीका शब्द उनैलाई गलपासो हुने देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१० करोडको अफर, #राजेन्द्र लिङ्देन
तपाईको कमेन्ट लेख्नुहोस्