Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, यूएई ७ विकेटले पराजित,एसीया कपमा स्थान बनाउन सफल


काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो । यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाएका थिए । यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए ।

यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए । सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेललाई निरन्तरता दिइएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका हुन ।

उनले ‘एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरुलाई हौसला बढाउन खेल मैदान पुगेका थिए । उनले पनि सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुहुँदै जितको खुसी साटेका थिए ।


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एसीसी प्रिमियर कप, #कपको उपाधि नेपाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं