सीके राउत र रञ्जिता श्रेष्ठबीच भयो १२ बुँदे सहमति, रेशमको रिहाइदेखि नागरिकता विधेयक मुख्य बुँदा

काठमाडौं । मंसिर ४ प्रतिनिधिसभाको चुनाव मार्फत उदाएका दुई पार्टीले कार्यगत एकता गर्ने घोषणा गरेका छन् । चुनावबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा भएको हो । दुई पार्टीबीच १२ बुँदे सहमतिमा जनमत पार्टी अध्यक्ष डाक्टर सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
१२ बुँदे सहमतिमा दुई पार्टीबीच टिकापुर घटनामा दोषी ठहर भइ सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबाट सम्झौता भएकै दिनबाट सुरु गर्ने, यसअघि नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधित) अध्यादेश २०७९ लाई संसदबाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाव दिने बुँदा मुख्य रुपमा राखिएको छ । सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने पनि सहमति भएको छ ।
त्यस्तै, विभिन्न आन्दोलनमा सहभागिता भएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरुलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानूनी प्रक्रिया मार्फत सरकारलाई दवाव दिने, नागरिकताको समस्या समाधान गर्न दबाब दिने सहमति पनि भएको बताइएको छ । दुबै पार्टीले संघदेखि प्रदेशसम्मको सरकार गठन हुँदा सहमति भएका बुँदाहरुलाई कार्यान्वयनमा लैजान एक भएर जाने समेत बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कार्यगत एकता, #कार्यगत एकता गर्ने घोषणा, #मंसिर ४ प्रतिनिधिसभा
तपाईको कमेन्ट लेख्नुहोस्