Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

तेस्रो पटक सत्तामा पुग्दा पहिलो पटक दौरा सुरुवालमा देखिए प्रचण्ड,साँढे १५ बर्षपछि नयाँपन


काठमाडौं । तेस्रो पटक सत्ताको बागडोर सम्हाल्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक दौरा सुरुवाल, कोट र टोपीमा देखिएका छन् । उच्च पदका पुग्दा र मन्त्री हुँदा अन्य नेताहरुले दौरा सुरुवाल र टोपी लगाइसकेका थिए । तर, शसस्त्र युद्धताका दौरा सुरुवाल र टोपीलाई सामन्ती पोशाक भन्ने प्रचण्डलाई सोही पहिरन लगाउन भने साढे १५ बर्ष लागेको छ । सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिदा प्रचण्ड पहिलो पटक दौरा सुरुवालमा देखिए । सधैं कोट पाइन्ट र भादगाउँले कालो टोपीमा देखिने प्रचण्ड तेस्रो पटक सत्तामा पुग्दा सेतो दौरा सुरुवाल र खैरो कोटमा चिटिक्क सजिएका थिए ।

सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ’सामन्ती पोसाक’ भन्ने गर्थे । २०६४ को पहिलो संविधानसभा चुनावपछि माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो र २०६५ मा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । उनले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ खाँदा उनी अघिका प्रधानमन्त्रीले लगाउदै आएको दौरा सुरुवाल र टोपी नलगाई सुट र टाईमा कालो टोपी लगाए । पहिलो पटक प्रधानमन्त्री बन्दा भने प्रचण्डले भादगाउँले कालो टोपी लगाउन सुरु गरेका थिए ।

प्रचण्डले ‘ककटेल’ पहिरन लगाएको भन्दै त्यतिबेला नै चर्चा भयो । २०७३ साउनमा दोस्रोपटक प्रधानमन्त्री बन्दा पनि प्रचण्डले दौरा–सुरुवाल लगाएनन् । प्रचण्ड प्रायः सार्वजनिक कार्यक्रममा टाई–सूट र भादगाउँले टोपी लगाउदै आएका छन् । तर, माओवादीका धेरै नेताहरुले दौरा सुरुवाललाई स्वीकारीसकेका थिए । विभिन्न धार्मिक–सांस्कृतिक समुदायको कार्यक्रममा जाँदा त्यही अनुसारको पोशाक लगाइदिने प्रचण्डले दौरासुरुवाल भने लगाएका थिएनन् । उनीले पोशाकलाई सामन्तवादकै बिम्बका रुपमा लिदैं आएका थिए ।

तत्कालिन माओवादीबाट प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले कोट पाइन्ट लगाएरै कार्यकाल गुजारे । उनैलाई ०६८ सालमा दौरा–सुरुवाल र गुन्यूचोली ‘समयसापेक्ष नभएको’ भन्दै यसलाई राष्ट्रिय पोशाकबाट हटाएको आरोप छ । उनले देशब्यापी रुपमा भ्रमण गर्दा भने कर्णाली पुग्दा दौरा सुरुवाल लगाएका थिए । पूर्वमाओवादी कमान्डर नन्दबहादुर पुन उपराष्ट्रपति भएपछि दौरा, सुरूवाल र ढाका टोपीमा सजिएर औपचारिक समारोहमा भाग लिन्छन ।

सभामुख बनेका कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटाले भने दौरा सुरुवाल लगाउदै आएका छन् । २०६२/२०६३ को आन्दोलनअघिसम्म दौरा, सुरुवाल, कोट र टोपीलाई पुरुषको राष्ट्रिय पोसाक मानिन्थ्यो । तर, गणतन्त्र स्थापना हुनुअघि जारी भएको अन्तरिम संविधानमा त्यो व्यवस्था हटाइयो । नेपालको नयाँ संविधान राष्ट्रिय पोसाकको विषयमा मौन छ । एमालेबाट अहिलेसम्म प्रधानमन्त्री बनेका सबैले दौरासुरुवाल नै लगाउने गरेका छन् । कांग्रेसबाट प्रधानमन्त्री–मन्त्री बनेका सबैले दौरासुरुवाल लगाउने गरेका छन् । सपथ ग्रहणका क्रममा दौरा सुरुवाल लगाएका प्रचण्डले अव निरन्तर लगाउछन् या लगाउँदैनन् त्यो भने समयले नै देखाउनेछ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कोट र टोपी, #तेस्रो पटक सत्ता, #पहिलो पटक दौरा सुरुवाल, #पुष्पकमल दाहाल प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं