सरकार बनाउन कांग्रेस–एमाले मिल्ने सम्भावना कति ? यस्तो छ विगतमा भएको सहकार्य

काठमाडौं । पहिलो दल बनेको नेपाली कांग्रेसले बाम लोकतान्त्रिक गठबन्धनकै निरन्तरता मार्फत सरकार गठनलाई प्राथमिकता दिएको छ । दोश्रो दल एमाले माओवादी केन्द्रसहितका केही दल फकाएर वा कांग्रेससँगकै सहकार्यमा सत्ता सहकार्य गर्ने रणनीतिमा सक्रिय छ । कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेकै बाम लोकतान्त्रिक गठबन्धनको निरन्तरताबाट सरकार गठन गर्ने प्राथमिकतासहित अघि बढ्दैगर्दा दोश्रो दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने जसरी भएपनि सत्ता सहकार्यमा आफ्नो दललाई सामेल गराउने रणनीतिमा छन् ।
आफूसँगको तालमेलमा चुनाव लडेको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपासँगै सत्ता गठबन्धनको साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत आफ्नो पक्षमा ल्याएर सरकार बनाउने पहिलो रणनीतिमा ओली छन् । अर्कोतर्फ धेरै दलको सहकार्यमा किचलो सरकार बनाउनुभन्दा कांग्रेस र एमाले मिल्नुपर्ने आवश्यकता औंल्याउँदै कतिपय एमाले नेताहरुले नै आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।
कुनै पनि दललाई सरकार बनाउन सक्ने गरी स्पष्ट बहुमत नदिएर जनताले एमाले र कांग्रेस सहितका दलहरुलाई मिलिजुली काम गर्ने जनादेश दिएको भन्दै गरिएको चर्चा वास्तबिकतामा परिणत होला त ? धेरैले चासोका साथ प्रतिक्षा गरिरहेका छन् । हुनत, चुनाव अघि नै एमाले अध्यक्ष ओलीले कांग्रेस र एमाले सरकारमा सँगै हुनसक्ने आशयको अभिव्यक्ति दिएका थिए । भनिन्छ, राजनीतिमा कोही पनि स्थायी मित्र र सत्रु हुँदैनन् । एमाले र कांग्रेसले यसअघि नै ६ पटकसम्म सरकारमा सहकार्य गरिसकेका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा एमाले तेस्रो दलमा खुम्चिए पनि नेपाली कांग्रेसकै समर्थनमा माधव नेपाल प्रधानमन्त्री बनेका थिए । २०७० को दोश्रो संविधान सभा निर्वाचनपछि त पहिलो दल बनेको कांग्रेस र दोश्रो दल एमालेबीच नै सत्ता सहकार्य भएर कांग्रेस सभापति शुसिल कोइराला प्रधानमन्त्री बने ।
यसअघि नै २०५५ सालमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको चुनावी सरकारमा एमाले सहभागि भएको थियो । २०६१ मा कांग्रेसबाट विभाजित प्रजातान्त्रिक कांग्रेसका नेता शेरबहादुर देउवा नेतृत्वमा गठित सरकारमा पनि एमालेले सहकार्य गर्यो । तत्कालीन राजा ज्ञानेन्द्रले हातमा लिएको सत्ता दलहरुलाई हस्तान्तरण गरेपछि बनेको कांग्रेस नेतृत्वको सरकारमा पनि एमाले सामेल भयो ।
यतिबेला २०५२ सालमा राप्रपा र सद्भावना पार्टीलाई साथमा लिएर झिनो बहुमतका प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आफ्नो सरकार टिकाउन राप्रपा र सद्भावना पार्टीका सबैजसो सांसदलाई मन्त्री बनाएर ठूलो मन्त्रिपरिषद्को रेकर्ड राखेको इतिहासको समेत स्मरण गर्न थालिएको छ । राप्रपाका दुई जनाले प्रधानमन्त्रीको लोभ गर्दा राप्रपा विभाजित बनेको र राम्रो मन्त्रालय ताकेर सद्भावना विभाजन गराएको संसदीय राजनीतिको फोहोरी खेल नदोहोर्याउन भन्दै कतिपयले कांग्रेस र एमाले मिल्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।
प्रतिपक्ष दर्बिलो भए मात्रै संसदीय व्यवस्थामा विकृति नआउने विश्वासलाई कायम राख्नुपर्ने भएकाले कांग्रेस र एमालेको सहकार्य त्यति सहज भने देखिदैन । एकको असफलतामा आफ्नो सफलता ठान्ने प्रतिष्पर्धात्मक राजनीतिक धरातल बलियो पार्ने रणनीति लिएका पहिलो र दोश्रो दलबीच सहकार्य हुन्छ वा अन्य दललाई विश्वासमा लिएर बलियो प्रतिपक्षीसहितको सरकार बन्छ, प्रतिक्षा बाँकी नै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेस–एमाले, #मिल्ने सम्भावना, #राजेन्द्र लिङ्देन, #सरकार गठनलाई प्राथमिकता
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्