Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

सधैं सत्तामा रहेको माओवादीको ओरालो यात्रा, हरेक चुनावमा खस्किदो जनमत


काठमाडौं । शान्ति प्रक्रिया मार्फत खुल्ला राजनीतिमा आएसंगै नेकपा माअ‍ोवादी केन्द्रले संसदमा आफ्नो उपस्थिति कमजोर बनाइरहेको छ । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेपछि उसको राजनीतिक यात्रामा ओरालो लाग्ने क्रम रोकिएको छैन । भर्खरै सकिएको प्रतिनिधिसभा र प्रदेशसभामा पनि माओवादीको उपस्थिति निराशाजनक रह्यो । यद्यपि ति दलका नेताले आफ्नो दललाई निर्णायक शक्ति भन्न भने छाडेका छैनन् ।

दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रिया मार्फत मुलधारको राजनीतिमा आएको नेकपा माओवादी केन्द्र पहिलो पटक २०६४ को संविधानसभाको निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । सो निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० वटामध्ये आधा अर्थात् १ सय २० वटामा जित माओवादीले नै निकाल्यो । २०६४ सालको निर्वाचनको ६ वर्षपछि २०७० को निर्वाचनमा माओवादी केन्द्रले अघिल्लो जितको एक चौथाई जित्न पनि सकेन । उ मात्र २६ सिटमा खुम्चियो । त्यसपछि माओवादीले संसदीय निर्वाचनमा पार्टीको अस्तित्व बचाउने उपायको रूपमा गठबन्धन गर्दे आएको छ ।

२०७४ मा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेसँग पार्टी एकता गरि होमिएको माओवादी केन्द्रले १ सय ६५ सिटमध्ये ३६ सिटमा जित हासिल गरेको थियो । हुम्लाबाट स्वतन्त्र उम्मेदवारको रूपमा जिते पनि छक्कबहादुर लामापछि माओवादी प्रवेश गरेपछि माओवादीको प्रत्यक्षतर्फको जित संख्या ३७ पुगेको थियो । एमालेसँगको निर्वाचनको केही वर्षसम्म राम्रै चलेको थिए । तर, पछि विवाद आएपछि तत्कालिन नेकपा टुक्रिएर एमाले र माओवादी केन्द्र पुन ब्युतिए ।

माओवादीले कांग्रेससँगको साथ लिएर ५ वटा दलको एकीकरण गरि सरकार बनायो, स्थानीय तहको निर्वाचनमा होमियो र अहिलेको निर्वाचनलाई पनि निरन्तरता दियो । हालसम्मको परिणाम अनुसार माओवादीले ५ वर्षको भन्दा आधा मात्र अर्थात् १७ सिटमा जित निकालेको छ । २०६५ पछि माओवादी सत्ता बाहिर छैन । कहिले आफ्नै पार्टीको नेतृत्वमा सरकार छ कहिले कांग्रेस र कहिले एमालेको साथ लिएर माओवादी सधैं सत्तामा सामेल छ ।

पटक–पटक सत्तामा बस्न खोजिरहने प्रवृत्ति र जनताका बीचमा गरिएका बाचा पुरा गर्न नसक्नुनै माओवादी ओरालो यात्राको प्रमुख कारण हुन सक्ने नेताहरुको बुझाई छ । सत्ताको स्वाद चाखेको माओवादी केन्द्र गठबन्धन भरमा रहन बाध्य भएको र गठबन्धन नभएको भए पतनको दिशामा पुगेको बिश्लेषण पनि हुने गरेको छ । प्रत्यक्षमा मात्रै होइन समानुपातिकमा पनि माओवादीले आफ्नो जनाधार खस्काएको छ ।

नागरिक स्तरबाट नो नट अगेन जस्ता अभियानले ब्यापकता पाउनु, नयाँ राजनीतिक दल बिकल्पमा आउनु, सरकारमा बसेर पनि परिणाममुखी नतिजा दिन नसक्नु जस्ता कारणले पनि माओवादीको राजनीतिक पतन हुँदै आएको बताइन्छ । अहिले पनि सत्ताको भाग खोज्न माओवादी बिभिन्न कार्ड खेलिरहेको छ । कांग्रेससँग गठबन्धनमा हुँदा हुँदै पनि माओवादी सबै विकल्प खुला राखेको भन्दै सत्ताको बार्गेनिङ गरिरहेको छ । हरेक चुनावमा ओरालो यात्रामा रहेको तेस्रो दल माओवादी अफै बार्गेनिङ गरेर सत्तामा पुग्न सकिन्छ कि भन्दै राजनिति खेल खेल्न खोजिरहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माअ‍ोवादी केन्द्र, #माओवादीको ओरालो यात्रा

तपाईको कमेन्ट लेख्नुहोस्