Techie IT
  • २५ असार २०८२, बुधबार
KhojPatrika

जुट्ने भन्दा फुट्ने मधेशबादी दलका आ–आफ्नै एजेण्डा, शीर्ष नेतालाई चुनाव जित्नै सकस


काठमाडौं । २०७४ को निर्वाचनमा मधेसकेन्द्रित दल एकजुट हुँदा मधेश प्रदेशका ३२ मध्ये १९ निर्वाचन क्षेत्रमा जित हात पारेका थिए । यसपटक गठबन्धनका कारण ३२ मध्ये १७ सिटमा मात्रै मधेसकेन्द्रित दलको उम्मेदवारी छ । यी मध्येपनि ९ सिटमा लोसपा र जसपाबीचमै मुख्य प्रतिस्पर्धा हुँदैछ । मधेसकेन्द्रित दलभित्रको बिभाजनले शिर्ष नेताहरु नै जोखिममा छन भने कांग्रेस, एमाले र माओवादीलाई लाभ हुने देखिन्छ ।

उपेन्द्र यादव र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेसँगको चुनावी तालमेलमा र महन्थ ठाकुर अनि राजेन्द्र महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको सत्ता गठबन्धन दलसँगको तालमेलमा चुनावी मौदानमा छन् । यी दुई गठबन्धनका कारण मंसिर ४ को निर्वाचनमा तराई मधेशमा राजनीतिक बर्चस्व कायम गरेका मधेशवादी दलहरु आफै अफ्ठेरोमा पर्ने देखिएको छ । मधेस प्रदेशका ८ जिल्लाका प्रतिनिधि सभाका ३२ निर्वाचन क्षेत्र छन् ।

स्थानीय तहको वडागत मतविश्लेषणका आधारमा यी मध्ये २६ निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको सत्ता गठबन्धन अगाडि छ भने जसपा एमाले नेतृत्वको गठबन्धन ६ निर्वाचन क्षेत्रमा मात्रै अगाडि छ । कैंयन निर्वाचन क्षेत्रमा दुई गठबन्धनबीच मतको अन्तर एकदमै कम भएकाले निर्वाचनमा रोचक भिडन्त हुँने आँकलन गरिएको छ । विशेषगरी मधेशवादी दलका शिर्ष नेताहरु नै एमाले कांग्रेस र माओवादीलाई खुम्च्याउने भन्दा बढी एकअर्कालाई हराउन कम्मर कसेर लागेका छन् ।

सप्तरी निर्वाच क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा पूर्वमन्त्री जयप्रकाश ठाकुर बीचको त्रिपक्षिय भिडन्त हुँदैछ । सत्तारुढ गठबन्धनको बलमा उठेका ठाकुरको उम्मेदवारीले यादवलाई चुनौती थपिरहँदा पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका राउतले थप जोखिममा पारेका छन् ।

स्थानीय तहको मतविश्लेषणका आधारमा जसपा सम्मिलित एमाले नेतृत्वको गठबन्धन यहाँ सत्ता गठबन्धनसँग झण्डै १३ हजार मतले पछाडी रहेकाले समेत यादवको जित कठिन बनेको छ । सुनसरी क्षेत्र नम्बर–१ को प्रतिनिधि सभातर्फ एमाले जसपा गठबन्धनका अशोक राई मैदानमा छन् । राईलाई एमालेका मनोजकुमार मेन्याङबोको बागि उम्मेदवारीसँगै माओवादीका मुक्साहाङ मेन्याङबोले चुनौँती प्रस्तुत गरेका छन् । यहाँ जसपाका राईलाई चुनाव जित्ने एमालेको मत तान्नुपर्ने चुनौती छ ।

महोत्तरी ३ को प्रतिनिधि सभा उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ । तर ठाकुरविरुद्ध एमालेसहितको समर्थनमा जनता समाजवादी पार्टीबाट हरिनारायण यादव चुनौँती बनेर मैदान उत्रिएका छन् । ठाकुरको दल लोसपा, कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीले स्थानीय तह निर्वाचनमा पाएको मत जोड्दा २९ हजार ५४३ हुन्छ भने जसपा र एमालेको मत २५ हजार १७७ छ ।

अर्कोतर्फ लामो समयदेखिका सहकर्मी विषेशचन्द्र लालले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट उम्मेदवार बनेर चुनौँती थपिदिएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा झनै रोचक प्रतिस्पर्धा हुँदैछ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव यहाँ एकअर्काका प्रतिस्पर्धी छन् । यहाँ स्थानीय रुपमा पकड रहेका राजनारायण साहलाई एमालेले मैदान उतारेको छ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा ३४ हजार ५ सय ७८ मत पाएको छ । लोसपाको १२ हजार ३ सय ७१ र एमालेको ७ हजार ६ सय ७९ मत छ । जसपाले १९ हजार ६ सय ४२ मत पाएको थियो । स्थानीय तहको निर्वाचनमा यादव जसपामै भएकाले महतोको जित असहज बनेको छ ।

महोत्तरी –२ बाट लोसपाका शिर्ष नेता मध्येकै एक शरतसिंह भण्डारी मैदानमा छन् । यस पटक एमालेका डा. रामपरिक्षण यादवले भण्डारीलाई कडा टक्कर दिदैछन् । भण्डारीसँगको असन्तुष्टि र लोसपालाई क्षेत्र छाड्दा काँग्रेसमा रहेको मत एमाले उम्मेदवारमा गएमा भण्डारीको संसद यात्रा कठिन हुनेछ । सर्लाही–१ मा जसपाका प्रमोद साह र लोसपाका रामप्रकाश चौधरी एकअर्काका लागि चुनौँती बन्ने भएका छन् । पर्सा–१ मा पनि जसपा र लोसपाबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ । जसपाबाट २०७४ मा निर्वाचित सांसद एवं पूर्व वन मन्त्री प्रदीप यादव मैदानमा उत्रिदा लोसपाबाट लक्ष्मणलाल कर्णले चुनौँती थपेका छन् । यहाँ सत्ता गठबन्धनको बलमा कर्णले चुनाव जितेमा एमालेको साथमा चुनाव लडेको यादवको संसद यात्रामा ब्रेक लाग्नेछ ।

सिरहा–२ मा सत्ता गठबन्धनबाट कांग्रेसकी नेतृ चित्रलेखा यादव र एमाले गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुँदैछ । स्थानीय तह निर्वाचनको मतविश्लेषणका आधारमा सत्ता गठबन्धन बहुमतमा रहेको यो निर्वाचन क्षेत्रमा जनमत पार्टीका बिनोद यादव समेत चुनौँती बनेका छन् । सिरहा ४ मा प्रतिनिधिसभाका लागि जसपा एमाले गठबन्धनबाट जसपाका डा. बिरेन्द्र प्रसाद महतो, सत्ता गठबन्धनबाट नेकपा एसका धर्मनाथ साह र जनमतबाट बिरेन्द्र प्रसाद साह चुनावी मैदानमा छन् । यहाँ पनि जसपाका महतोको जित स्थानीय तहको मतका आधारमा सहज देखिदैन ।

यता,बाँके क्षेत्र नं २ मा पनि जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई दुई उम्मेदवारको चेपुवामा परेका छन् । एमालेको समेत समर्थन रहेका राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वनगरप्रमुख डा. धवलशम्शेर राणा र सत्ता गठबन्धनका साझ उम्मेदवार कांग्रेस नेता सुदीप नरसिंह राणाले राईलाई चुनौँती दिदैछन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को निर्वाचन क्षेत्र नम्बर १ मा समेत उद्योगपति विनोद चौधरी लामो समय मधेशवादी

राजनीति गरेर जनता प्रगतिशील पार्टी खोलेका हृदयस त्रिपाठीको संसद यात्रा ब्रेक गर्नेगरी चुनावी मौदानमा छन् । मधेशवादी दलको बिभाजन र सत्ता अनि एमाले गठबन्धनका नाममा भएको चुनावी कित्ताकाटले मधेशका शिर्ष नेताहरु नै असुरक्षित बन्दा एमाले, कांग्रेस र माओवादीले भने तराई मधेशको मतबाट लाभ लिने भएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपेन्द्र यादव, #मधेसकेन्द्रित दल

तपाईको कमेन्ट लेख्नुहोस्