Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

प्रधानमन्त्री देउवाले गरे २२० केभी नयाँ खिम्ती सब–स्टेशनको उद्घाटन


काठमाडौं । तामाकोशी जलविद्युत आयोजनाको मुख्य सब–स्टेशनको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका १३ को साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के भी सब–स्टेशनको निर्माण स्थलमा पुगेर प्रधानमन्त्रीले आयोजनाको शनिबार उद्घाटन गरेका हुन् । सब–स्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो ।

माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको यो सब–स्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सब–स्टेशन भएको बताइएको छ । तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सब–स्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने आँकलन गरिएको छ । अहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सब–स्टेशनमा जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२ दशमलब ४ मेगावाट क्षमताको लिखू चौथो र २४ दशमलब २ मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत् यही सब–स्टेशनमा जोडिएको छ । नयाँ खिम्ती सब–स्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००/२२०/१३२ केभी सब–स्टेशनमा लगिएको छ ।

ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न सहज हुनेगरेको छ । नयाँ खिम्ती सब–स्टेशनबाट ४६ किमि लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघूस्थित १३२ के.भी.सवस्टेसन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा समेत जोडिएको छ ।

करिब १३७ रोपनी क्षेत्रफल रहने सब–स्टेशनमा हाल करिब ५५ रोपनीमा २२०\१३२ केभी नयाँ खिम्ती सब -स्टेशन निर्माण भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको दाबीसहित जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा यो ऐतिहासिक उपलब्धी भएको बताएका छन् । माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत् उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई ठुलो मद्धत पुर्याउदै आएको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #तामाकोशी जलविद्युत, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्