Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

रङ, प्रेम र सत्यको पर्व होली,यस्तो छ किंबदन्ती


काठमाडौं । एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँदैछ । होलीको अवसरमा बिभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका छन् । आज काठमाडौंको बसन्तपुरमा आयोजित होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता छ ।

उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका छन् । आँखालाई अबिरबाट जोगाउन केहीले विशेष प्रकारको चश्मा प्रयोग गरेका छन् ।
कसरी मनाउन थालियो होली
हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई मार्न अग्निनजिक जाँदा आफैं जलेर नष्ट भएकाले असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा फागु पर्व (होली) मनाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको नेपालमा यो पर्वको रौनक मेची–पश्चिम महाकालीसम्म हुन्छ । नेपालको पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन र तराईमा भोलिपल्ट होली मनाइन्छ । काठमाडौं, पोखरा, जनकपुर, वीरगन्ज, धरान, चितवन, विराटनगर, धनगढीलगायत ठाउँमा फागु विशेष किसिमले मनाइन्छ ।

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई पूर्णिमाको अघिल्लो अष्टमीका दिन विशेष पूजा गरी ठड्याइन्छ । रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गराउँदै एकआपसमा अबिर छ्यापेर फागुको शुभारम्भ गरिन्छ ।

त्यसबेला स्थानीय तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामी समेत दिन्छन् । असत्यमाथि सत्यको विजय हुने मान्यतासाथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा पुर्याई दहन गर्ने परम्परा छ ।
होलिका दहन
फाल्गुण शुक्ल पूर्णिमाको साइतमा चीरलाई ढालेर तान्दै तान्दै टुँडिखेलको मध्य भागमा पुर्याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुको निकै घुइँचो लाग्ने गर्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा घरघर लैजाने चलन पनि छ ।

यसैगरी, ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य (चक्रमणशीलको मूर्ति) लाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौपटक ओहोरदोहोर गराउने परम्परा छ । नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भनिन्छ । त्यसो गर्नुअघि बाजागाजासहित होली खेल्दै जात्रा गरेर मूर्तिलाइ ठमेलमा नगर परिक्रमा गराइन्छ । ठमेलबाट ज्याँठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पुर्याउने परम्परा छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #हिरण्यकश्यपु, #होली पर्व

तपाईको कमेन्ट लेख्नुहोस्