Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य


काठमाडौं । आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । अबको एक वर्षभित्रमा सबै सवारीसाधनमा जडान गरिसक्नेगरी योजना अघि बढाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए । विभागले गत मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भएपनि वितरणमा समस्या देखिदै आएको थियो ।

अहिले विभिन्न स्थानमा इम्बोस्ड नम्बर प्लेट भए,नभएको हेर्न गेट बनाउने काम अघि बढाइएको छ । विभागले नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि सबै तयारि पुरा भएको बताएको छ । पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समय कोभिडका कारण उच्च सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त भएको दाबी विभागले गर्दै आएको छ । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन) सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।

गत जेठमा अवधि सकिएको भएपनि केही समय पहिले मात्रै अवधि बढाइएको छ । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपाराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचनाप्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख छ । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत छनौँट गरिएको थियो ।

सम्झौतामा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको विभागले बताएको छ ।

संविधानअनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै ०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडानको काम लमो समय रोकियो । उक्त मुद्दाको रिट खारेज गरेपछि पुनः अघि बढाउने बाटो खुलेको थियो ।

अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्गेजी भाषाको प्रयोग अनुपयुक्त नहुने फैशला गरेको छ । भाषाविद्हरूले अहिले पनि सवारि साधनको नम्बर प्लेट नेपाली भाषामा नै हुँदा उपयुक्त हुने बताइरहेका छन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्