मन्त्री रामकुमारी झाँक्री पुगिन राउटे बस्तीमा, लगाइन सम्झना शाही र गाजलु शाहीसँग मित
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री राउटे बस्तीमा पुगेकी छन् । संघीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार नभएपनि मन्त्री झाँक्री घर बनाइदिने प्रस्ताव लिएर राउटे बस्तीमा पुगेकी हुन् । राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको भन्दै तपाईंहरुले चाहेकै जस्तो भवन बनाइदिने बताएकी छन् । तर, मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सहमत भएका छैनन् ।
राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ । अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए । टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो । मन्त्रीसहितले आफना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो ।
करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए । तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्रस्ताव राखिन् भने राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिएका छन् । राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्नेछ ।
संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार भवन विभागले डिजाइनको खाका तयार गर्ने र राउटे अगुवासँग छलफलपछि अन्तिम रूप दिइने बताए । मन्त्री झाँक्रीले राउटे समुदायमा आवास, शिक्षा र स्वास्थ्योपचारको प्रस्ताव राखेको आयोजना प्रमुख थापाले बताए ।
छलफलमा शिक्षा र स्वास्थ्यका सवाललाई राउटे अगुवाहरुले खासै महत्व नदिएको उनको भनाइ छ । यसैबीच राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल प्रदान गरेकी छन् । मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रामकुमारी झाँक्री राउटे बस्ती
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्