Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

नारायणहिटीमा बतासले बनाएका संरचना भत्काएपछि मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशालातिर


काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको जग्गा कौडीको भाउमा रेस्टुरेन्ट निर्माणका लागि बतास ग्रुपलाई दिइएको बारे चौतर्फी बिरोध भएपछि निर्माण गर्न लागिएका संरचनाहरू भत्काइएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक समिति गठन भएको छ । समितिले शुक्रबारदेखि आफनो काम सुरु गरेको उपसचिव टेकनारायण पौडेलले जानकारी दिए ।

सङ्ग्रहालय विकास समितिले १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र क्यान्टिन, रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएपछि मन्त्री आलेको एक्सन सुरु भएको थियो ।

यति मात्रै नभएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेको नजर बतास ग्रुपले नै भाडामा लिएको नेपाल–भारत पशुपतिमैत्री धर्मशालमाा गएको छ । मन्त्री आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन, देवीप्रसाद बराल र मन्त्रालयका लेखाका उपसचिव सदस्य रहेका छन् ।

समितिलाई सात दिनभित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप मात्रै बतासमाथी लागेको छैन तीर्थालु एवम् धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लाग्दैआएको छ । धर्मशालाका विषयमा छानबिनका लागि युवा संघ नेपालको टोलीले समेत मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको थियो । मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने र गलत प्रयोजनमा दिनेलाई कारबाही गरिने दाबी गर्दै आएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नारायणहिटी दरबार, #प्रेमबहादुर आले

तपाईको कमेन्ट लेख्नुहोस्