Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

फेरि माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष,४० बर्षसम्म एउटै ब्यक्तीको राज


काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको पहिलो बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको श्रेष्ठको भनाई थियो ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत ताली बजाएर अनुमोदन गरेको हो । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकमा प्रचण्डले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद दिएका थिए ।

उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चा समेत गरे । देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको प्रचण्डको भनाई छ ।

केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ । बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो । माओवादीमा पदाधिकारीको आकांक्षी धेरै भएपनि सन्तुलन मिलाउन सकस देखिएको छ । विशेषगरी महासचिवमा सहमति नजुट्दा पदाधिकारी चयनमा सकस परेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध, #नेकपा माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्