Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

कांग्रेसमा सभापति र महामन्त्रीमा ६/६ जनाको उमेद्वारी, अन्तिममा विश्वप्रकाशले रोजे प्रकाशमान


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनमा नेताहरुले तामझाम गरे । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराए । गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराए । महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान सिंह र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिए । त्यस्तै ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।

देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् । शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा यी बाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिए । त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको संस्थापन समूहमा सबभन्दा ठूलो रस्साकस्सी महामन्त्रीमा थियो । दुई महामन्त्रीका लागि बालकृण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद दावेदार थिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापतिका उम्मेदवार देउवाले आफ्नो महामन्त्रीको उम्मेदवारका रुपमा महत र प्रदीप पौडेललाई छनोट गरे । पौडेल, कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौलाले सभापतिमा उम्मेदवारी नदिई आफूलाई समर्थन गरेपछि देउवाले पौडेललाई महामन्त्रीका रुपमा अघि सारेका छन् । प्रदीपको इन्ट्रीसँगै देउवालाई महामन्त्रीको बाँकी एक उम्मेदवार छनोट गर्नु कठिन हुँदा विश्वप्रकाश शर्मा देउवा क्याम्प छोड्दै प्रकाशमानको साथमा पुगेका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएनन् ।

निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा पौडेलले कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन् । पौडेल यसअघि सभापतिको आकांक्षी थिए भने आफ्नो समूहमा सहमति नभएर विभाजन आएपछि कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् । यस्तै कृष्णप्रसाद सिटौला, परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि कुनै पदमा उम्मेदवारी दर्ता गराएनन् । यस्तै यसअघि सभापतिको आकांक्षी रहेका महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उम्मेदवारी मनोनयन, #नेपाली कांग्रेसको १४ औं महाधिबेशन

तपाईको कमेन्ट लेख्नुहोस्