निर्वाचनमा हारेपछि कमल थापा सामाजिक सञ्जालमा सक्रिय,एकपछि अर्को विवादित ट्वीट
काठमाडौं । करिव डेढ दशक पार्टीको कुनै न कुनै तवरबाट नेतृत्वमा रहेका राप्रपा अध्यक्ष कमल थापा एकता महाधिबेशनबाट पराजित भए । नेता राजेन्द्र लिङ्देनले करिव २ सय बढी मतले थापालाई पराजित गरे । थापालाई लागेको थियो यो पटक पनि राप्रपाको अध्यक्ष मै हुँ । तर, मतदाताले थापालाई नभई लिङ्देनलाई जिताइदिए । मतदाताले जिताउदा पनि थापा भने आफूले हार्नुपर्ने दोष अर्कालाई दिइरहेका छन् । लिङ्देन लगायतका उम्मेदवारहरु प्रतिनिधिसँग भोट मागिरहँदा अध्यक्ष थापा, लिङ्देन समूहका महामन्त्रीकी उम्मेदवार रेखा थापासँग सामाजिक सञ्जालमा दोहोरी खेलिरहेका देखिन्थ्ये ।
मतदान प्रक्रिया शुरु भएपछि केही दबावमा देखिएका उनले अर्का अध्यक्ष पशुपतिशम्शेर जबरालाई आफ्नो पक्षमा खुल्न लगाए । हस्तलिखित वक्तव्यमा जबराले आफूले लिङ्देनलाई समर्थन गरेको भनेर कुप्रचार भएको मात्र भनेका छैनन्, आफू ‘काँचो नेतृत्व’को पक्षमा नभएको उल्लेख गरे । तर, पदाधिकारीमा महामन्त्री धवलशम्शेर राणा बाहेक सबै आफ्नो प्यानलका उम्मेदवार विजयी हुँदा पनि थापा भने पराजित भए । पराजितपछि एकाएक थापा सामाजिक सञ्जालमा सक्रिय भएका छन् । समाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाइ दिने औपचारिक पुरा गरेका थापा पूर्व निर्धारित कार्यक्रम नयाँ कमिटीको सपथ ग्रहणमा समेत बहिष्कार गरे । थापा यतिमै रोकिएका छैनन् । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले पूर्व राजाप्रति आफ्नो मान्यता परिवर्तन भएको संकेत गर्दै गीतकार राजेन्द्र थापाको गीतको अंश पोष्ट गरेका छन्
‘पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो
केले सिउने केले टाल्ने हो?’
निवर्तमान अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी कार्यक्रममा पुगोक थिए । थापाले पनि आफू पार्टी अध्यक्ष भएको बेला भएको महाधिवेशनमा आएका प्रतिनिधिहरुले गरेको निर्णयलाई स्वीकार गरेर राजनीतिक संस्कार देखाउन सक्थे । तर उनले सामाजिक सञ्जालमै रमिता देखाइरहे । सामाजिक सञ्जालमा आफनो पार्टीको निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेका उनले लिङ्देनको जितमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बधाई दिँदै कटाक्ष समेत गरे । थापाको अर्को ट्वीट छ, सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो ।
सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’ यतिमात्रै होइन अर्को ट्वीटमा पूर्वयुवराज्ञी हिमानीको नाममा बनाइएको ट्वीटरमा गरेको ट्वीटमा पनि प्रतिवाद गर्दै उनले लेखेका छन्, ‘अब चाँडै राजसंस्था पुनर्स्थापना हुने भएको हुँदा हार्दिक बधाई तथा शुभकामना । लोकतान्त्रिक मूल्य मान्यतालाई पछ्याउने हरेक नेताले आफू अल्पमतमा परेपछि बहुमत पक्षलाई स्वीकार गर्नुपर्ने थापाले त्यसो गरेनन् । राजसंस्था पुनर्स्थापना र हिन्दूराज्य स्थापनाको एजेण्डा लिएको राप्रपाका अध्यक्ष थापा गणतान्त्रिक सरकारको उपप्रधानमन्त्रीसम्म बने, तर राजतन्त्र फर्काउने नारा लगाउन पनि छाडेनन् ।
नेपाली कांग्रेससँग गठबन्धन गर्दै २०७४ को आम चुनावमा ५ सिटमा मात्र उम्मेदवार उठाउने निर्णय गरे, जसलाई उनी स्वंयमले ठूलो गल्ती स्वीकार गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको निकटताले पनि थापा, पार्टीमा आलोचित भइरहेका थिए । उनको कार्यशैलीमाथि पनि प्रशस्तै प्रश्न उठेको थियो । पार्टीमा एकलौटी गरेका उनले आफू अनुकल नभएका पदाधिकारी हटाउने र अनुकुललाई मनोनित गर्ने श्रृँखला चलाए । आफूलाई चुनौती दिन खोजेको कारबाही स्वरुप धबलशम्शेर राणा र राजेन्द्र लिङ्देन दुवैलाई महामन्त्रीबाट हटाएका थिए । एक्लौटी रुपमा राप्रपा चलाएका थापालाई हार स्वीकार गर्न कठिन भइरहेको उनका बारम्बार आइरहेका ट्वीटले देखाइरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पशुपतिशम्शेर जबरा, #महामन्त्री धवलशम्शेर राणा, #राप्रपा अध्यक्ष कमल थापा
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्