पासपोर्ट बनाउन राति १ बजेदेखि लाइन, ५ बज्दा समेत आएन पालो
अमेरिकी चिठ्ठा कार्यक्रम इडिभी भर्न तछाड मछाड

काठमाडौं । वैदेशिक रोजगार, उच्च शिक्षा र भ्रमणमा जाने तरखरमा रहेका मात्र नभएर आप्रवास सम्बन्धी अमेरिकी चिठ्ठा कार्यक्रम इडिभी भर्नका लागि आवश्यक पर्ने पासपोर्ट बनाउन सर्वसाधारण मध्यरातिदेखि नै राहदानी विभागमा लाइनमा बसेका थिए । कोभिड महामारीले गर्दा अधिकांश जिल्लामा राहदानी वितरण कार्य रोकिएका कारण पनि विभागमा भीड बढेको हो ।
सरकारी कार्यालय मध्ये व्यवस्थित मानिने काठमाडौँस्थित राहदानी विभागको यो ठेलम ठेलले सरकारी सेवा कति कठिनाई छ भन्ने पुष्टि गरिदिएको छ । यहाँ बैदेशिक रोजगारी, उच्च शिक्षा, विदेश भ्रमणमा जान आवश्यक राहदानी बनाउन कार्य गरिन्छ । यो भीडमा देखिने अधिकांश अनुसार विदेशमा श्रम बेच्न जाने तरखरमा छन् । केही उच्च शिक्षाका लागि विदेश जाने तयारमिा छन् । यही भीडमा आप्रवास सम्बन्धी अमेरिकी चिठ्ठा कार्यक्रम इडिभीमा भाग्य चेक गर्न चाहने पनि छन् । यो भीडले व्यवस्थित मानिएको सरकारी निकायको अस्तव्यस्तता दर्शाउँछ नै साथै नेपालमा रोजगारीको समस्या कति रहेछ भनेर समेत प्रष्ट पार्छ नै ।
स्वदेशमा रोजगारीको अवसर नपाएर विदेशीन बाध्य हुनेले विदेशमा पसिना बगाउनु अगाडि नेपालमा समेत कति सास्ती व्यहोर्नु पर्छ भन्ने प्रमाण समेत हो, यो भीड । बाध्यताबस विदेशी मरभूमिमा पसिना बगाउने तयारीमा रहेका नागरिकले राहदानी विभागमा खेप्नु परेको सास्तीले उनीहरुको बाध्यतामा झन् पीडा थपेको छ । कोभिड महामारीका कारण अन्य जिल्लामा राहदानी बनाउन रोकिएको हुँदा सबैलाई काठमाडौँसम्म धाउन बाध्य पारिएको छ । त्यही कारण हिजोआज प्राय सबै दिन राहदानी विभागमा यस्तै भिड देखिने गरेको छ ।
काठमाडौँ उपत्यकामा चिसो बढ्न थाले पनि आफ्नो सपना साकार पार्न मध्य रातिदेखि लाइनमा बस्नु पर्ने बाध्यतामा जनता छन् । तर पनि अन्य दिनको तुलनामा आइतबार देखिएको यो भिड अत्याधिक हो । भीड बढ्नुको पछाडि इडिभी भर्नका लागि पासपोर्ट नम्बरलाई अनिवार्य गरिएको कारण पनि एक बनेको छ । उता एक दिनमा मात्र १ हजार ५ सयको जति मात्रै राहदानी वितरण हुने हुँदा लगातार विभाग धाउनेको संख्या पनि कम छैन ।
अति अव्यवस्थित बनेको राहदानी विभागमा सुरक्षा निकायलाइ समेत भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । नागरिकको गुनासो लिएर राहदानी विभागका महानिर्देशकको कार्य कक्षसम्म पुग्दा कार्यालयका अधिकाशं कार्यकक्ष खाली देखिए । बल्लतल्ल विभागका निर्देशक सागरप्रसाद फुँयाल भने भेटिए । अत्याधिक मात्रामा सर्वसाधारणको उपस्थितिलाई व्यवस्थापन गर्न चुकेको निर्देशक फुँयालले समेत स्वीकारे । साथै विभागबाट भएको कमजोरी हटाउँदै आगामी दिनमा सहज तरिकाले काम हुने दाबी समेत उनको थियो ।
हुनत यो भीड एकै दिनमा व्यवस्थित बनाउन नसक्ने विभागका कर्मचारीहरु समेत स्वीकार्छन् । त्यही कारण अझै केही दिन राहदानी विभागमा यस्तै भीड देख्न पाइने छ । यसको अर्थ जनतालाई सास्ती दिन माहिर सरकारी कर्मचारीसँग भीड नियन्त्रण र व्यवस्थापन गर्न सक्ने कुनै उपाय छैन भन्ने बुझ्नु पर्ने छ । कम से कम विभागले जनस्वास्थ्यको मापदण्ड अपनाएर भीडलाई व्यवस्थित गर्न तथा दैनिक रुपमा सकेसम्म बढी राहदानी छपाइ गर्न नसकेसम्म जनताले सास्ती पाइ रहने पक्का छ भने कोरोना संक्रमणको जोखिमलाई पनि बढाउने छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राहदानी विभाग, #स्वदेशमा रोजगारी
तपाईको कमेन्ट लेख्नुहोस्