Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

सत्तारुढ दलमा मन्त्रालय भागबण्डा टुंगियो, मन्त्रीहरुको शपथ शुक्रबार


काठमाडौं । सत्तारुढ चार दलका शीर्ष नेताहरुले लामो रस्साकस्सीपछि मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । अब सम्भवत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने र मन्त्रीहरुको शपथ भोली नै हुने सत्तारुढ दलका नेताहरुले बताएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल जसपाका शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए । कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

कुन–कुन मन्त्रालय भन्ने टुंगो लगाएर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, एकीकृत समाजवादीका नेताहरुले पावर मिनिस्ट्री आफूहरुले नपाएको भन्दै प्रस्तावित मन्त्रालयमा असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद बिस्तार रोकिएको हो । बिहीबार चार दलका शीर्ष नेताहरु फेरि छलफलमा जुटे र मन्त्रालयको भागवण्डा टुंगो लगाए । एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले शुक्रबार विहान ११ बजे स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने बताए ।

स्वास्थ्य मन्त्रालय छाडेको कांग्रेसले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ । यस्तै रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय लिनेछ । उसले गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ । अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लिएको माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने भएको छ । माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै स्थायी कमिटीबाट गरेको थियो । यद्यपि कसले कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाँकी छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिनेछ । बालुवाटार बैठकमा एकीकृत समाजवादी र माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमा दाबी गरेका थिए । तर, जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुले पाउने सहमति भइसकेकाले हेरफेर नगर्न अडान राखेका थिए । जसपाले मन्त्रीहरु छान्न सकेको छैन । कार्यकारिणी समितिबाट मन्त्री छान्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले बिहीबार आकांक्षीहरुसँग छलफल गरेका थिए । तर, नाम टुंगो लागेको छैन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्रालय भागवण्डा

तपाईको कमेन्ट लेख्नुहोस्