Techie IT
  • ११ वैशाख २०८२, बिहीबार
KhojPatrika

‘डन’ को नेता कनेक्सन, अहिले को के गर्दैछन् ?

गुण्डागर्दीमै चर्चा कमाएका मनाङे मन्त्री


काठमाडौं । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिएपनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् । केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफनै व्यवसाय सञ्चालन समेत गर्दै आइरहेका छन् । धेरैजसो डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् ।

तत्कालीन नेकपा (एमाले) धादिङका क्षेत्र नं. १ का क्षेत्रीय उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा २०७१ साउन २१ मा मारिएपछि गुन्डा नाइकेहरू राजनीतिक संरक्षणमा रुमल्लिन थालेको प्रहरीका पूर्वअधिकारी बताउँछन् । ‘चरी’ प्रहरी ‘इन्काउन्टर’ मा मारिएको घटना सार्वजनिक भएसँगै संसद बैठक अवरुद्ध भयो । नेकपा (एमाले) धादिङका सांसदहरु संसदमा उफ्रिए । चरी प्रकरण नेपाली राजनीतिमा गुन्डाराजको गतिलो उदाहरण थियो । चरी इन्काउन्टरको दुई वर्षपछि अर्थात् ३ भदौ २०७३ मा अर्का डन कुमार श्रेष्ठ (घैंटे) समेत मारिएका थिए ।

नेपाली कांग्रेस निकट गुन्डा नाइके भनेर चिनिएका उनलाई प्रहरीले राजधानीको कपुरधारामा इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ । यस्तै, १० फागुन २०७४ मा प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन तत्कालीन नेकपा (एमाले) का नेताहरूको संरक्षणमा रहेको बताइन्छ । उनले युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ मा हत्या गरेका थिए ।

दर्जनौं मुद्दा खेपेका र फौजदारी अभियोगमा जेल सजाय भोगेका गुण्डानाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा खेलकुद मन्त्री बनाएको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभामा १ हजार ४ सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका मनाङेलाई तत्कालिन प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मन्त्रिपरिषदमा मन्त्री नियुक्त गरे । फेरि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्न सहयोग गरेबापत उनलाई युवा तथा खेलकुद मन्त्री बनाए ।

लामो समय गुण्डागर्दीमा संलग्न रहेका मनाङेलाई गत २०७४ सालको प्रदेश सभाका लागि शुरुमा एमालेबाट निर्वाचन लड्न खोजेका थिए । तर, एमालेभित्र व्यापक विरोध भएपछि उनी स्वतन्त्र रुपमै निर्वाचनमा भाग लिए । त्यसबेला उनले प्रतिस्पर्धी कर्म गुरुङलाई हराएका थिए । कर्म गुरुङको १ हजार २० मत आएको थियो । मनाङेलाई २०७६ असारमा मुख्यमन्त्री गुरुङले पार्टीमा स्वागत गरेका थिए । गुण्डागर्दीमै चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो ।

अर्का गुन्डा नाइके गणेश लामा पहिले राप्रपाको संरक्षणमा थिए । पछि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य बनेका उनी गच्छदार नेपाली कांग्रेसमा फर्किएपछि हाल कांग्रेस नेताकै रूपमा छन् । उनी काभ्रे क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ क्षेत्रबाट उम्मेवार दिएका थिए । निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई २०७८ जेठ २७ गते पोखरामा ओली सरकारले पक्राउ गरेको थियो । अर्का काभ्रेका डन निमा लामाको कोरोना संक्रमणबाट निधन भएको छ ।

काभ्रेको भीरपोखरी गाउँपालिका–२ करमडाँडा घर भएका लामाको कोरोना संक्रमणबाट काभ्रेमा निधन भएको थियो । उनी राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका थिए । लामा बानेश्वर, कोटेश्वर र काँडाघारी एरियामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा अशुल्ने गर्थे । उनी २०६२ सालमा ज्यान मार्ने उद्योगमा जेल परेका थिए ।

यस्तै, नेकपा (एमाले) सँग निकट रहेका अर्का गुन्डा नाइके हुन् मिलन गुरुङ अर्थात् ‘चक्रे मिलन’ । उनले एमालेका एक नेताकी श्रीमतीसँग भाइटीका नै लगाउने गरेका छन् । अवैध हतियार तथा अवैध सम्पत्ति दुवै मुद्धा खेपेका उनी एमाले नेताको सहयोगी गुन्डा नाइकेका रुपमा परिचित छन् । सुजन पौडेल ‘बाहुन डन’ सुजन पौडेल उर्फ बाहुन डन एमालेको रामेछाप जिल्ला समितिका सदस्य थिए हुन् । उनी ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका थिए । नेपाली सेनाको रेन्जर तहसम्मको तालिम गरेका उनी विभिन्न घटना घटाउँदै प्रहरीलाई छक्याउँदै हिँड्ने गर्थे । बाहुन हातहतियार तथा खरखजाना अभियोगमा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए ।

२०७१ असारमा लागूऔषधसहित भारतको लखनउबाट प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो । बाहुनले हाउजिङ क्षेत्रमा आतंकै मच्चाएका थिए । उनी साना हतियारको कारोबारबाट आपराधिक दुनियाँमा हामफालेका थिए । २०६२ लगत्तै अपराधको दुनिँयामा यात्रा थालेका उनी व्यवासायीहरुका लागि ‘सुरक्षा खतरा’ बन्न पुगे भने प्रहरीको नजरमा समेत ‘मुख्य चुनौती’ का रुपमा खडा भए । बाहुन डन २०६४ मा दरबारमार्गबाट पेस्तोलसहित पक्राउ परे । त्यतिबेला जिल्ला प्रशासन कार्यलयमा धरौटी बुझाएर रिहा भएका उनी पुनः बुटवलबाट दुई पेस्तोलसहित पक्राउ परे । हातहतियार तथा खरखजानाको अभियोगमा २ वर्ष कारागार बसेपछिपछि सफाई पाएर निस्केको उनी त्यसपछि हाउजिङ व्यवसायीबाट रकम असुल्न लागिपरे । बाहुन डन यतिबेला भने केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

परशुराम बस्नेत एमाले सम्बद्ध युवासंघका केन्द्रीय सदस्य समेत थिए । पूर्वाञ्चल क्षेत्रका चर्चित गुन्डा नाइके हुन् । विशेष अदालतको फैसालामा २ करोड रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए । विराटनगर क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका बस्नेतको नाममा स्रोत नखुलेको ११ करोड ६१ लाख ४१ हजार बराबरको सम्पत्ति देखिएको थियो ।

अर्का गुन्डा नाइके राजु गोर्खालीको नेताहरूसँग राम्रो सम्बन्ध भएको बताइन्छ । २०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा तरबार हानी हत्या गरेको आरोपमा गोर्खालीले दस वर्ष सजाय कटाएका थिए । अर्का गुन्डा नाइके मनोज आचार्यको राष्ट्रिय जनता पार्टी नेपालसँग साँठगाँठ रहेको बताइन्छ । फिल्म निर्माता मधु श्रेष्ठ पनि प्रहरीको गुन्डा सूचीमा छन् । धादिङका गुन्डा मानिएका राधे भण्डारी पनि कांग्रेसका नेतासँग प्रत्यक्ष सम्बन्धमा छन् । चलचित्र क्षेत्र हुँदै राजनीतिमा लागेका अर्का गुन्डा नाइके रोज राणा हाल चलचित्र निर्देशक र निर्माताका रूपमा सक्रिय छन् ।

त्यस्तै, ललितपुरका मीनकृष्ण महर्जन नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । ललितपुर क्षेत्र नं. १ प्रदेश ख मा उम्मेदवारी दिएका महर्जन एमालेका चेतनाथ सञ्जेलसँग पराजित भएका थिए । उनले नेपाली कांग्रेस ललितपुरको १४ औ महाधिवेशमा सभापति पदमा उम्मेवारी घोषणा गरेका छन् । वैचारिक क्षमता नभएपनि महर्जनलाई जिल्लामा पहलमानको रुपमा चिनिन्छन् । उनीमाथि रमेश वाहुनले धापाखेलमा आक्रमण गरी घाइते समेत भएका थिए ।

अन्य गुण्डाहरु पनि राजनीतिकै छहारीमा छन् । मधेश आन्दोलनको बेला उदाएका सन्जय टक्ला मन्त्री समेत भए अहिले उनी जेलमा रहेका छन् । राजाको शासनकालमा निक्ष शमेशरहरु मन्त्री भए, पञ्चायतमा जगत गौचनहरु गुण्डागर्दीबाट राजिनीतिमा प्रवेश गरेका थिए ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #‘डन’ को नेता कनेक्सन, #डन’, #दिनेश अधिकारी ‘चरी’, #राजीव गुरुङ उर्फ दीपक मनाङे

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं