Techie IT
  • २१ मंसीर २०७८, मंगलबार
KhojPatrika

केन्द्रविन्दुमा माधव नेपाल, ओली हटाउनेदेखि देउवालाई प्रधानमन्त्री बनाउनेसम्मको दौड

ओलीको आडम्बरले चट्टानी बनेका नेपाल


काठमाडौं । मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमहरुले नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाललाई किङमेकर बनाएको छ । राजनीतिको केन्द्रमा उनी नै छाएका छन् । नेता नेपालले प्रतिनिधिसभा पुनस्र्थापना तथा आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने विषयमा देखाएको चट्टानी अडानले उनको व्यक्तित्वमा उचाइँ थपेको छ । संसद पुर्नस्थापना र शेरबहादुर देउवाको सत्तारोहणपछि मुलुकको राजनीतिकले फरक मार्ग लिएको छ । वर्तमान राजनीतिमा नेपालको माग निकै बढेको पनि छ । त्यही कारण प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवमध्ये एक जना नेपाल निवास कोटेश्वरमा नपुगेको दिनै हुँदैन ।

दलगत आधारमा भन्ने हो भने माधव नेपाल अहिले विपक्षी दलका बरिष्ठ नेता हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै नेकपा एमाले प्रमुख प्रतिपक्ष दल बनेको छ । तर, नेपालको सक्रियता हेर्दा लाग्छ उनी सत्तारुढ दलकै बलियो खम्बा हुन् । त्यसैले बिपक्षी दलको नेता भएपनि उनको निवासमा मन्त्रिमण्डल बिस्तारदेखि संबैधानिक निकायमा नियुक्ति, कर्मचारीको सरुवा बढुवासम्मको छलफल हुने गरेको छ । हुनपनि नेपालकै कारण दोस्रो पटक प्रतिनिधिसभा पुनस्र्थापना भयो अनि देउवाले पाँचौ पटक सत्तारोहणको मौका पाए । आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत पार्न पदको माया मारेर पार्टीबाट पटक–पटक कारवाही भोग्न समेत उनी तयार भए ।

नेपालको चट्टानी अडानका कारण राजनीतिले फरक मोड लियो । मार्गबाट बरालिएको संविधान सही बाटोमा आयो । नेपालको राजनीतिक उचाइँ बुझेरै होला यतिबेला प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव हरेक निर्णय गर्नु अगाडि कोटेश्वर पुग्ने गरेका छन् । नेपालको अडानले नै मुलुकको राजनीतिले नयाँ कोर्ष सुरु गरेको कारण उनी राजनीतिको केन्द्रविन्दुमा आएको बामपन्थी नेता राधाकृष्ण मैनाली बताउँछन् । नेता मैनालीकै कुरा मान्ने हो भने नेपालले स्वार्थलाई त्यागेर पार्टीभित्रको गलत क्रियाकलाप माथि खबरदारी नगरेको भए राजनीतिक परिस्थिति कुनै हालतमा अहिलेको अवस्थामा आउने थिएन ।

सरकार बनाउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका नेपाल अध्यक्ष ओलीको प्रलोभनमा नफसेको कारण यतिबेलाको मुलुकको राजनीतिको मियो बनेको मैनालीको दाबी छ । देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनबाट बाहिरिएको बताएका नेपालले अहिले पनि सरकारलाई सुझाव र समर्थन दिइरहेका छन् । सत्तापक्षका बैठकमा आफैँ सहभागि हुने गरेका नेपालले अहिले भने प्रतिनिधि समेत पठाउने गरेका छन् । सत्तापक्षका नेताहरुको कोटेश्वरमा दौडधुप बाक्लै हुन्छ । त्यसैले त नेपालले पनि प्रधानमन्त्री देउवालाई क्षमतावान सहयोद्धा लिएर काम गर्न सुझाव दिइरहेका छन् ।

पटक–पटक सत्तारुढ दलका नेताहरुले नेपाललाई सरकारमा सहभागि हुन आग्रह गरिरहेका छन् । तर, नेपाल तत्काल त्यो सम्भावना नरहेको जवाफ दिइरहेका छन् । नेपाल निकट नेताहरु भने सरकारमा सहभागि हुनेपर्ने दवाव दिइरहेका छन् । कतै नेपाल सरकारमा सहभागि हुन्छन् कि भन्ने पर्खाइले मन्त्रीपरिषद बिस्तारमा समेत ढिला भइरहेको छ । संसद पुर्नस्थापना, नयाँ प्रधानमन्त्री निर्माणको योजनाकार नेपाललाई अव एमालेलाई एक बनाउन भने निकै चुनौती छ ।

पछिल्लो समय अध्यक्ष ओली नेपालप्रति नरम भएको देखिएपनि नेपाल भने झनै कडा बन्दै गएका छन् । एमालेको दोस्रो अध्यक्ष बन्न आएको प्रस्तावलाई ठाडै अस्विकार गरेका नेपालले दोस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्नु पर्ने बताउन थालेका छन् । उनको यो अडानले पनि मुर्तरुप लिने हो भने नेपाल कम्युनिस्ट इतिहासमा माधवकुमार नेपालले कमजोर अडान भएको नेताबाट चट्टानी अडान लिने नेताको परिचय बनाउने छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री देउवा, #माओवादी अध्यक्ष प्रचण्ड, #माधव नेपाललाई किङमेकर, #राजनीतिक घटनाक्रम

तपाईको कमेन्ट लेख्नुहोस्