असोजसम्म १ करोड ८३ लाख डोज कोरोना बिरुद्धको खोप नेपाल आइपुग्ने

काठमाडौं । संसदमै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता नै जनतालाई खोप लगाउनु भएको बताएका थिए । आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा गरेअनुसार विभिन्न खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै खोप आयात र तेस्रो लहरको चुनौतिविरुद्ध लड्न आवश्यक पूर्वाधार स्थापनाको प्रगतिबारे जानकारी गराएको छ ।
त्यस्तै, चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज खोप प्राप्त हुने समेत मन्त्रालयले बिज्ञप्तीमा जनाएको छ । १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदका लागि प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि प्राप्त हुने हुँदा चैतभित्र सबै नेपालीको पहुँचमा खोप पुग्ने पनि मन्त्रालयले दाबी गरेको छ । हालसम्म ९७ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, सरकारले १० प्रतिशत मुनाफा लिएर विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिएका खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ ।
खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको छ । मन्त्रालयले १४ सय थान हाइ डिपेन्डेन्सी युनिट (एचडीयू), १८० थान भेन्टिलेटर थप गर्ने चरणमा रहेको जनाएको छ । बालबालिकाको लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयू बेड थप्ने कार्य अघि बढाइएको छ ।
अक्सिजन आपूति सुद्धढ गर्नको लागि थप ३५०० थान अक्सिजन कन्सनट्रेटर ल्याउने तयारीमा रहेको मन्त्रालयले जनाएको छ । १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत दुई वटाको कार्य सम्पन्न भैसकेको, ४ वटाको प्रक्रिया सुरु भएको र १० वटाको सूचना प्रकाशित भएको पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #१ करोड ८३ लाख ८२ हजार डोज खोप, #प्रधानमन्त्री शेरबहादुर देउवा
तपाईको कमेन्ट लेख्नुहोस्