ओली लचिलो हुँदा माधव झनै कडा, ओलीले भने माफी दिन्छौं, माधव भन्छन् अपमान सहनौं
काठमाडौं । सर्वोच्चको परमादेशपछि देउवालाई प्रधानमन्त्री बन्नका लागि बिश्वासको मत दिएका माधव–झलनाथ पक्षका २२ जना सांसदलाई स्पष्टीकरण सोधेपछि रुष्ट बनेका माधव नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच फेरी वाकयुद्ध शुरु भएको छ । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेताद्धयले फरक–फरक कार्यक्रम आयोजना गर्दै पार्टी एक नरहेको सन्देश मात्र दिएनन्, एक अर्कामाथि दोषारोपण गरेका छन् ।
नेपाली कम्युनिष्टहरुका लागि पुष्पलाल स्मृति दिवस सधैँ गर्व लायक दिन बन्ने गर्छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवस मनाईरहँदा उनकै पार्टी नेकपा एमालेका नेताद्धय भने छुट्टा–छुट्टै कार्यक्रम आयोजना गर्दै एक अर्कालाई सघाउनेभन्दा पनि सिध्याउने खालका अभिब्यक्ति दिएका छन् । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले ७२ बर्ष पूरा गरीसक्दा ७२ पटक नै बिभाजीत भईसकेको छ । टुटफुटवाट अघि बढीरहेको नेकपा एमाले फुटको संघारमा पुगिरहेको अवस्थामा पुष्पलालको स्मृति दिवस मनाउँदै गर्दा पनि आरोप–प्रत्यारोपमै ब्यस्त देखिए ।
काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन सही दिशामा लैजान कम्युनिस्ट पार्टीलाई बलियो बनाउन चाहेको बताए । उनले आफूले बनाएको घर छाडेर हिड्न मन नभए पनि अपमान सहेर बस्न नसकिने भन्दै अध्यक्ष ओलीलाई ठाडो चुनौती दिए । नेता नेपालले गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु दास बन्नु बराबर भएकोले अपमान गर्नेलाई निरुत्साहीत पार्नु पर्ने बताए ।
यता पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलमा आयोजित अर्को कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता नेपाल पक्षतर्फ इंगित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गर्न भ्याए । तर, उनको अभिव्यक्तिको शैली भने नेपाल पक्षलाई होच्याउने खाल कै थियो । यसरी आफ्नो पार्टीका संस्थापक महासचिवको स्मृति दिवसमा समेत एउटै मञ्चमा बस्न नसक्नेहरुले कसरी संस्थापक नेताप्रति सच्चा श्रद्धाञ्जली दिए भनेर विश्वास गर्ने ?
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई बिश्वासको मत दिएका २२ जना माधव–झलनाथ समूहका सांसदलाई २४ घण्टे अल्टीमेटम दिएका ओली केही नरम भएको देखिन्छ । पार्टी केन्द्रिय कमिटि बैठकवाट दिएको निर्देशन बमोजिम नेपाल समूहका सांसदहरुले आजै स्पष्टीकरण बुझाईसकेका छन् । उनिहरुले प्रधानमन्त्रीवाट ओलीले राजीनामा नदिएपछि शेर बहादुर देउवालाई बिश्वासको मत दिएको स्पष्टीकरण दिएका छन् । एमाले भित्रको द्धन्द समाधान भन्दा पनि झन् चकिर्दै गएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ओली–नेपाल जुहारी, #सर्वोच्चको परमादेश
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्