Techie IT
  • २२ मंसीर २०७८, बुधबार
KhojPatrika

मन्त्रिमण्डल विस्तारलाई लिएर शिर्ष नेताहरुको दिनभर दौडधुप,भागबण्डा मिलाउनै सकस

ओलीले गरेका असंवैधानिक नियुक्ति खारेज गर्ने सहमति


काठमाडौं । नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारलाई पूर्णता दिन गठबन्धनका शिर्ष नेताहरुको दौडधुप जारी छ । मंगलबार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका नेता माधव नेपालसँग भेट्दै सरकारमा आउन आग्रह गरे । नेपाललाई भेटेपछि प्रचण्डले प्रधानमन्त्री देउवासँग भेट गरे । भेटमा दुवैले न्युनतम साझा कार्यक्रम बनाएर सरकार संचालन गर्ने सहमति पनि गरेका छन् । उता सरकारलाई पूर्णता दिने विषयमा देउवालाई पार्टीभित्र मात्र नभएर गठबन्धनका नेताहरुलाई पनि रिझाउनु पर्ने बाध्यता छ । एमालेबाट विधिवत रुपमा अलग भएको घोषणा मात्र गर्न बाँकी माधव नेपाललाई साक्षी राख्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच २५ वटा मन्त्रालयलाई ४ वटा समूहमा विभाजन गरेर भागबन्डा मिलाउने सहमति पनि बनि सकेको छ ।

जसमा शक्तिशाली, विकास, समाजिक र कम महत्वका घटीमा १–१ वटा मन्त्रालय गठबन्धनमा रहेका सबै दललाई दिइने सहमति बनेको छ । देउवाको चुनौती अहिले गठबन्धनमा रहेका दलहरुलाई मिलाउने मात्रै छैन । देउवा, माधव नेपाल पक्ष पनि विधिवत् रुपमा सरकारमा आओस् भन्ने चाहन्छन् । साथै सरकारको बहुमत नगुमोस् भन्ने चाहनामा अन्तिम समयमा आफूलाई विश्वासको मत दिएका जसपाका महन्थ ठाकुर पक्षसहित एमालेका थप ८ सांसदलाई पनि मन्त्रीमण्डलमा भाग दिनु पर्ने चुनौती देउवामाथि थपिएको छ । मंगलबारको भेटमा प्रचण्ड र उपेन्द्र यादवले नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै कानूनी तथा राजनीतिक प्रबन्ध मिलाउने वाचा दिएका छन् । नेपालले उनीहरुलाई सरकारमा सहभागी हुने आश्वासन पनि दिइ सकेका छन्, मात्र घोषणा हुन बाँकी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा नेपाललाई पार्टीमा नफर्कन उर्दी जारी गरेसँगै उनले सुरक्षित राजनीति अवतरणको वातावरण बनाउने तयारी पनि थालेका छन् । उता महन्थ समूहलाई सरकारमा सहभागी नगराउन उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई चेतावनी समेत दिइ सकेको छ । यो अवस्थामा यादवलाई मनाएर महन्थ पक्षलाई सरकारमा ल्याउनु प्रधानमन्त्री देउवाका लागि थप चुनौती बनेको छ । उता पार्टीमा देउवा इतरका रामचन्द्र पौडेलले आफ्नो पक्षबाट मन्त्रीमण्डलमा झन्डै ५० प्रतिसत हिस्सेदारी मागेको छ । यस्तै अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले पनि आफ्नो पक्षका लागि सरकारमा भाग खोजेका छन् । सरकारलाई समर्थन गरेको जनमोर्चाले सरकारमा नजाने निर्णय गरि सकेको छ । केपी शर्मा ओलीलाई सत्ताच्युत पार्न तथा आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नेहरुलाई विश्वासमा लिनु पर्ने पहिलो चुनौती देउवा सामु छ ।

माधव नेपाललाई फकाएर उनको पक्षलाई सरकारमा सहभागी गराउनु त छदैँछ, प्रतिनिधि सभामा विश्वासको मत लिँदा अन्तिम समयमा सहयोग गर्ने महन्थ पक्ष र ओलीको साथ छाडेर आफूलाई साथ दिने एमालेका ८ सांसदको व्यवस्थापन गर्नु पर्ने चुनौती पनि उनीको काँधमा थपिएको छ । प्रतिनिधि सभामा हासिल बहुमतलाई जोगाइ राख्न पनि उनले सबैलाई साथग लिएर हिँड्ने योजना बनाएको बताइन्छ । जे जस्तो अवस्था आइ परेपनि यही साताभित्र मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा शिर्ष नेताहरु बीच सहमति बनेको छ । सबैलाई मिलाउन सकेको खण्डमा गठबन्धनलाई रिझाउन माहिर देउवाले प्रतिनिधि सभाको बाँकी कार्यकाल सजिलै बिताउने छन् । साथै तीन वटै सरकारको लागि निर्वाचन गराउने अवसर पनि पाउने छ । तर जे भने पनि, गठबन्धनलाई मिलाउन नै टाउको दुखाउनु प¥यो भने प्रधानमन्त्रीका रुपमा देउवाको पाँचौ कार्यकाल पनि बिगतभन्दा फरक हुन पाउने छैन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गठबन्धनका शिर्ष नेता, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्