Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

कोरोना भाइरस संक्रमणलाई ख्यालठट्टा नसोचौं


काठमाडौं । अहिलेसम्म हामी नेपाली एक हदसम्म भाग्यमानी ठहरिएका छौँ । विश्वका आफूलाई अब्बल मान्ने र ठान्ने राष्ट्रका तुलनामा निक्कै कमजोर स्वास्थ्य उपचारको अवस्था भएको हाम्रो देशमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेपनि स्वदेशमा कसैले पनि ज्यान गुमाउनु परेको छैन । तर, बिडम्बना विश्वका २७ देशमा पाँच हजार बढी नेपाली दाजुभाई कोरोनाबाट संक्रमित हुँदा ७३ जनाले ज्यान गुमाएका छन् । यो पीडा हाम्रा लागि सिकाई बन्नुपर्छ । मानवता हराउँदै गरेको विश्वलाई त्रसिद बनाएको कोरोनाले लाखौँको ज्यान लिएको छ । ३६ लाख हाराहारि संक्रमित भएका छन् । यसले विश्वको आर्थिक, सामाजिक राजनीतिक सबै क्षेत्रलाई प्रभावित बनाएको छ । हो कोरोनाको यो आँकडा हाम्रा लाई दुखदायी छ । हरेक राष्ट्र र जनताको पीडा आफ्नो पीडा जस्तै बनिरहेको छ । अरुको तथ्यांक केलाईरहेका हामी भोली आफै कोरोनाको तथ्यांक बन्ने त होइनौं, जोखिमबाट बच्ने अनि अरुलाई पनि बचाउनेतर्फ सचेत बनौँ । लकडाउन बढ्ला वा घट्ला यो भन्दा पनि तपाई हामीले सामाजिक दूरी कायम राख्यौ, राखेनौँ । माक्स ग्लोब लगायौँ लगाएनौँ अनि घरबाहिर जाँदा वा जोखिम अनुभव गरेसँगै राम्रोसँग हात धोयौँ धोएनौँ भन्ने कुराले कोरोना रोकथाममा ठूलो अर्थ राख्नेछ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गर्दा सरकारलाई केही कुरा भने भन्नैपर्ने भएको छ । सरकार नेपाली सेना मार्फत जिटुजी अन्तरगत किन्न लागिएको स्वास्थ्य सामाग्री खै कहाँ छ ? नीजि व्यवसायी मार्फत स्वास्थ्य सेवा विभागले खरिद सम्झौता गरेको स्वास्थ्य सामाग्री खै ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पीसीआर मेसिन जडान गरेर किट कुरिरहेको छ । ३१ जना कोरोना संक्रमित पहिचान भएको प्रदेश १ विराटनगरस्थित कोशी अस्पतालको कोरोना परिक्षण गर्ने अटोमेटिक मेसिन रिएजेन्ट अर्थात आरएनए एक्ट्रयाक्सन किट अभावले बन्द छ । आइतबार एकैदिन १५ जना संक्रमित फेला परेको प्रदेश पाँचको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला किट अभाव भयो लौँन भन्दै हारगुहार गरिरहेको छ । र्यापिट डाइग्नोस्टिक टेस्ट( आरडिटी) किट अनि पीसीआर जाँचको किट अभावले संक्रमित पहिचान गर्ने काम यसैगरी सबै ठाउँमा प्रभावित भयो भने के लकडाउनले मात्रै कोरोनाको महामारी रोक्छ ? सरकार गफ होइन्, रोग पहिचान गरेर संक्रमण रोक्ने अनि संक्रमित देखिएकाको उपचारमा गम्भिर बनोस् ।


क्याटेगोरी : राजनीति, विचार/लेख
ट्याग : #कोरोना भाइरस

तपाईको कमेन्ट लेख्नुहोस्