२३ वर्षे अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो
काठमाडौं । विश्व फुटबलका एक युगका पर्याय क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने घोषणा गरेका छन् । गोल, कीर्तिमान र उपाधिको पर्याय बनेका ४१ वर्षीय रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट २३ वर्ष लामो यात्रा टुंग्याउँदै सात नम्बरको जर्सी नयाँ पुस्तालाई सुम्पिने बताएका छन् । देशका लागि सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने विश्व कीर्तिमान आफ्नै नाममा लेखाएका रोनाल्डोको यो घोषणासँगै विश्व फुटबलले एउटा ऐतिहासिक अध्याय गुमाउने भएको छ । एउटा यस्तो नाम, जसले फुटबललाई केवल खेलमा सीमित राखेनन्, विश्वभरका करोडौँ समर्थकको भावनासँग जोडिए ।
मैदानमा उनको गति, गोल गर्ने भोक, जितप्रतिको चाहना र असम्भवलाई सम्भव बनाउने क्षमताले उनलाई विश्व फुटबलको सर्वाधिक चर्चित खेलाडीमध्ये एक बनायो । तर, अब पोर्चुगलको सात नम्बर जर्सीमा क्रिस्टियानो रोनाल्डोलाई देख्न पाइने छैन । ४१ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । सन् २००३ को अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले २३ वर्षको अवधिमा २३४ खेल खेले । यसक्रममा उनले १४६ गोल गरे । राष्ट्रिय टोलीबाट सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने दुवै विश्व कीर्तिमान उनकै नाममा छन् ।
व्यक्तिगत कीर्तिमानसँगै उनले पोर्चुगललाई सन् २०१६ को युरोकप र सन् २०१९ को यूईएफए नेसन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे । स्पोर्टिङ लिस्बनबाट सुरु भएको रोनाल्डोको यात्रा म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस हुँदै साउदी अरेबियाको अल नासरसम्म पुग्यो । म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टस गरी तीन फरक देशका शीर्ष लिगमा उपाधि जितेका खेलाडी हुन रोनाल्डो । रियल मड्रिडका लागि ४५१ गोल गरेका रोनाल्डो क्लबको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडि हुन् ।
पाँच पटक बालोन डी’ओर, पाँच पटक च्याम्पियन्स लिग र पोर्चुगलका लागि तीन प्रमुख अन्तर्राष्ट्रिय उपाधि जितेका रोनाल्डोले फुटबल इतिहासमा आफ्नो छुट्टै स्थान बनाए । आफ्नो सन्न्यासबारे इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै रोनाल्डोले पोर्चुगलका जनतालाई सम्बोधन गरेका छन् । २३ वर्षसम्म राष्ट्रिय टोलीको सात नम्बर जर्सी लगाउनु आफ्नो विशेषाधिकार र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै उनले अब त्यो जर्सी भविष्यको पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् ।
यो निर्णय सहज नभएको भन्दै उनले आफ्नो जीवन नै परिवर्तन गर्ने यात्रा अन्त्यतिर पुगेको भावुक सन्देश दिएका छन् । रोनाल्डोको यो घोषणा यस्तो समयमा आएको छ, जतिबेला राष्ट्रिय टोलीमा उनको भूमिकालाई लिएर प्रश्न उठ्न थालेका थिए । गत महिना डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा सुरुआती टोलीमा नराखिने जानकारी पाएपछि उनी पोर्चुगलको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए । तर, उनको सन्न्यासको घोषणालाई उक्त घटनासँग मात्र जोडेर हेर्न सकिँदैन ।
रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरमा सफलता मात्रै होइन, संघर्ष, आलोचना र पुनरागमनका अनेक कथा छन् । युरोकप जित्ने सपना पूरा गर्नेदेखि विश्वकपको उपाधि जित्न नसकेको अधुरो चाहनासम्म उनको यात्रामा जोडिएका छन् । २३ वर्षसम्म बोकेको सात नम्बरको जर्सी अब नयाँ खेलाडीको काँधमा पुग्नेछ । तर, १४६ गोल र २३४ खेलको कीर्तिमानसँगै पोर्चुगलको फुटबल इतिहासमा रोनाल्डोले बनाएको स्थान सजिलै मेटिने छैन । जर्सी फेरिएला, पुस्ता फेरिएला, तर रोनाल्डोको नाम र उनको गोलको कथा फुटबल इतिहासमा सधैँ जीवित रहनेछ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, विचार/लेख, विदेश
ताजा खबर
- १२३ वर्षे अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो
- २भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के के भयो कुराकानी ?
- ३रविले भने आइजीपी परिवर्तनको औचित्य सरकारले पुष्टी गर्ला
- ४सरकार र प्रमुख प्रतिपक्षबीच टकराव चुलियो, गगनले दिए सरकारलाई चुनौती
- ५किन बढ्यो प्रधानमन्त्री बालेन र कांग्रेस सभापति गगनबीच टकराव ?



तपाईको कमेन्ट लेख्नुहोस्