असार
ध्वाँसे काले छ ढोले वसन फुसफुसे गर्जना खूब लायो
ढम् ढम् ढम् ढर्र ढम् ढम् घनगण खुश भै ढोलबाजा बजायो
त्यो ढोले तालसाथै घुरुरुरु लचिलो मन्द थर्को सुनिन्छ
फेर्दामा ताल अर्को धपधप किटकिट् नाद अर्को सुनिन्छ ।
नाच्ने त्यो तालसाथै घरिघरि विजुली नर्तकी अङ्गनाले
झिल्के चाञ्चल्यतामा द्रुततर नखरा छर्न थाल्छे मजाले
त्यो काले तालवालेसित रसबस भै व्योमको आँगनीमा
नाच्ता हेर्छन् धराका नद,नग,तरुले प्रेक्ष्यशाला उहीमा ।
उत्साही छन् धराका कृषक जलदले झार्न थालेर पानी
पोख्छन् बाँझा गरामा श्रमसित पसिना डाक्न नौलो बिहानी
मानो खाई मुरीको फल पछि बटुलूँ स्वप्न देख्छन् सबैले
स्वप्ना साकार पार्ने सब कृषक जुटे सिर्जनामा क्रमैले ।
खुल्दा यी पौरखीका श्रम र पशु कतै यन्त्रका शक्ति खुल्छन्
हेर्दाहेर्दै गरामा झिलमिल हरिया धानका गाँज झुल्छन्
माटीको बाफ उड्दा हरहर मनमा प्रीति सीमान्त बन्छ
वास्ना त्यो मृत्तिकाको कृषक समुहले अत्तरैतुल्य मान्छ ।
टाँस्तै विज्ञप्तिजस्तो श्रम र सृजनको कर्मवादी असार
आयो आह्वान गर्दै प्रतिपल उठ ए १ जोशिला कर्मवीर
माटामा भिज्न पाऊन् लथपथ पसिना,गर्व मानोस् धराले
हाम्रै कर्मण्यता हो प्रगति मुलुकको भन्छ खोलाघरेले
छन्दः स्रग्धरा
क्याटेगोरी : जीवनशैली, सामाजिक सञ्जाल, साहित्य
ट्याग : #असार, #खोलाघरे साँहिलो
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्