Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

माओवादी केन्द्रले लियो प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता,विश्वासको मतलाई असफल पार्ने कांग्रेसको निर्णय


काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो ।

केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष पनि निकालेको छ । बैठकले विश्वासको मत लिने प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको भन्दै यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक रहेका निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको उहाको भनाई छ । लुम्बिनी प्रदेशमा भएको घटना असंवैधानिक भएको निष्कर्ष बैठकले निकाल्दै लुम्विनीको सरकारलाई अवैधानिक घोषणा गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको भावना विपरित स्वच्छाचारी भएको ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए ।  सोमबारमात्रै सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गरेको थियो । बैठकले संविधान र लोकतन्त्रको रक्षाका निम्ति सम्पूर्ण राजनीतिक पार्टी नागरिक समाज र सबै जनसमुदायलाई सचेत र एकताबद्ध रहन अपिल गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निबास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरेको हो । विश्वासको मत लिने ओलीको कदम असल नियतबाट निर्देशित नरहेको र यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने निश्कर्ष निकाल्दै यो विरुद्ध संगठित रुपमा प्रस्तुत हुने निर्णय गरेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले बताए ।

विश्वासको प्रस्ताव फेल भएपछि वैकल्पिक सरकार गठनको लागि बाटो खुल्ने उनले बताए । बर्तमान सरकारले चौतर्फी रुपमा संवैधानिक मान्यता र मर्यादालाई भत्काउने काम गरेको र प्रदेशमा पनि नाङ्गो किसिमबाट अल्पमतमा पुगिसकेपछि सरकार बनाउने असंवैधानिक काम केन्द्रको निर्देशनमा भएको भन्दै भत्र्सना गरिएको महतले बताए ।

त्यस्तै संसदलाई छलेर अध्यादेशको माध्यमबाट धेरै बिषयलाई अघि बढाउने काम भएको भन्दै बैठकले भत्र्सना गरेको जानकारी दिए । त्यस्तै कारोना महामारीमा आवश्यक सामाग्रीको उचित वस्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कोरोनाका कारण पार्टीको महाधिवेशन अप्ठेरोमा परेपनि तोकिएको समयमा नै महाधिवशेन सम्पन्न गर्न आन्तरिक काम जारी राख्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं