नेकपामा निष्कियो अर्को विवाद, लगानी बोर्डमा भट्टलाई नियुक्त गरेकोमा प्रचण्ड खनालको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको आन्तरकलह तत्काल सहमतिबाट टुङ्गीने नभई थप बढ्ने संकेत देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने, केन्द्रिय कमिटिको बैठक समेत तत्काल आवश्यक नभएको अडान राखेपछि नेकपा भित्रको आन्तरिक किचलोले निरन्तरता पाउने निश्चित जस्तै छ । अझ अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा हुने कुनैपनि बैठकले वैधानिकता नपाउने तर्क गर्दै कोरोना महामारी, बाढी पहिरोको प्रकोपमा केन्द्रित हुनुपर्ने समयमा भीडभाड गरेर बैठक गर्नु उचित नहुने दाबी गरेका छन् ।
असार १३ गते अध्यक्ष ओलीको उपस्थितिमा बसेको स्थायी कमिटि बैठक र त्यसको निर्णयले दुई अध्यक्षबीच दूरी बढाएर सम्वादहिनताको अवस्था आएपनि गत आइतबारबाट दुबै अध्यक्षले बैठकको थालनी गरेर सम्वादहिनता तोडेका थिए । पाँच दिनपछि सुरु भएको अध्यक्ष द्धयको बैठकले निकास निकाल्नेमा नेकपा नेताहरु आशावादी भइरहँदा विवादले थप विस्तार पाइरहेको छ । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मंगलबार तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगियो । अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक राख्न तयार आग्रह गरेपनि अर्का अध्यक्ष ओली तयार नभएको बताइएको छ ।
वार्ता सहमतितर्फ नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरुको बैठक सकिएको छ । सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए । विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएको बताइएको छ । मंगलबारको बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डको छलफलमा वरिष्ठ नेता खनाल र सुभासचन्द्र नेम्वाङको पनि सहभागिता थियो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली दुबै पदबाट राजीनामा दिने बाहेक सबै बिषयमा सचिवायल बैठकमा सम्वाद गर्न सकिने अडानमा छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु स्थायी समितिबाट निकास ननिष्किए केन्द्रिय समिति बैठकमा आ–आफ्ना एजेण्डा लगेर बैठकको निर्णय अनुसार चल्नुपर्ने पक्षमा छन् ।
दुबै पक्षका आ–आफ्नै अडानले सहमति सहज नदेखिदा नेकपाका कार्यालय सचिव समेत भिडभाड गरेर अहिलेको अवस्थामा बैठक बस्नु उचित नहुने बताइरहेका छन् । सम्वादहिनता तोडेको बैठकले छिट्टै निकास दिने आशा जगाएको दाबी नेताहरुले गरिरहँदा अडान यथावत । विवाद हल गर्न नेताहरुको दौडधुप जारी छ । मंगलबार मात्रै पनि अध्यक्ष प्रचण्डले विवाद समाधानको प्रयास स्वरुप उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । पार्टीको विवाद मिलाउन भन्दै उनै उपाध्यक्ष गौतमले गरेको ६ बुँदे प्रस्तावले ओलीसँग नजिकिएको संकेत गरेपछि वामदेवलाई आफूतिर तान्न दुबै खेमाका नेताहरुको दौडधुप जारी रहनुले नेकपा बिवादको निकास भन्दा फुट उन्मुख भएको आशंका गरिदैछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्