Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

जनैपूर्णिमा तथा ऋषितर्पणीको यस्तो छ धार्मिक महत्व


काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यसदिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

यो दिन पशुपतिनाथसहित पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्छ । तर, कोरोना महामारीका कारण यस वर्ष धार्मिकस्थल तथा मठ मन्दिरमा चहलपहल छैन । सरकारले लकडाउन हटाए पनि धार्मिक स्थल अझै खुलाएको छैन । आजै राखी बाँध्ने गरिन्छ । तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सु स्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गरिएको छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खानु शरिरका लागि लाभदायक छ ।
येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः। तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल
अर्थात् जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन (डोरो) बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ । भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाँध्ने को परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ ।

सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन् । आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ । नेवार समुदायमा आजको दिनलाई गुन्हु पुन्ही भनी मनाइने परम्परा छ । नेवार समुदाय का हिन्दू द्विज तागाधारी जाती राजोपाध्याय ब्राह्मण र क्षेत्री थरी श्रेष्ठ हरु ले संकल्प गरी नयाँ जनै लगाउने चलन छ भने सबैले आजकै दिन परम्परानुसार नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

यसैगरी उपत्यका का कृषक तथा ज्यापु जातीले यस दिन विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी बहिनी र दाजु भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । यो दिन दिदी बहिनीले आफ्ना दाजु भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ ।
के छ रक्षा बन्धनको महत्व
रक्षा बन्धनहिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा ब्राह्मणहरूहरू नुहाई धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन व रक्षासूत्र पनि भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाईदिने गर्छन । बदलामा शिष्य यजमानहरू ब्राह्मणलाई दक्षिणा रूपयाँ पैसा वस्त्रादि उपहार दिने गर्छन । यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ऋषितर्पणी, #जनैपूर्णिमा


तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं