सार्वजनिक सवारी यातायातको मनलाग्दी, दोब्बर भाडा लिएर यात्रु ठग्दै

काठमाडौं । सरकारले स्वास्थ्य सावधानी लगायतका विभिन्न सर्तहरु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि केही समय गाडी चलाउन आनाकानी गरे । राहत र सहुलियतको माग राखेर यातायात चलाउदैनौँ भन्ने व्यवसायीले अन्ततः केही दिनपछि गाडी चलाए । यातायात व्यवसायीले जोखिम मोलेर यात्रुलाई सुविधा दिएको दाबी गरिदैगर्दा यात्रुहरुको गुनासो बढ्न थालेको छ । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ ।
मयुर, सुन्दर, महानगर, साझा, बागमती लगायतका केही सिमित यातायात बाहेकले सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको उल्लंघन गर्दै आएका छन् । माइक्रो र ट्याम्पोको यात्रा त भौतिक दूरी कायम नहुँदा जोखिमयुक्त बनिरहेको छ । सार्वजनिक यातायातले नियम पालना नगरेको र जोखिम बढाएको बारे नियामक निकाय ट्राफिक प्रहरीले पनि ध्यान नदिएको गुनासो यात्रुहरुको छ ।छोटो दूरीमा पनि न्यूनतम २५ रुपैया भाडा लिने बसहरुले सिट क्षमताको आधा यात्रु नराखेको पाइएको छ । सिट क्षमताको आधामात्र यात्रु राख्ने सर्तमा साविकको भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएपनि अधिकांशले जोखिममा सुविधा दिएको नाममा दोब्बर भाडा अशुलिरहेका छन् ।
सार्वजनिक यातायातको यात्रा गर्ने अधिकांश यात्रुहरु दोब्बर भाडा तिर्नुपरेको बताइरहेका छन् । मुख्य शहरी रुटका सवारीमा मात्र यात्रुको भीड देखिने गरेकोमा अहिले भित्री शहरमा चल्ने सवारीमा पनि भीड बढ्न थालेको छ । भित्री शहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोले सिटभर यात्रु बोक्न थालेका छन् । यातायात व्यवस्था विभाग अनुगमनको जिम्मेवारी ट्राफिकलाई दिइएको दाबी गर्छ । यता, महानगरीय ट्राफिक प्रहरी महाशाखा भने जनशक्ति अभावका कारण सबैतिर आवश्यकता अनुसार अनुगमन गर्न नसकिएको स्वीकार गर्छ । उपत्यकामा पोशाक एवं सादा पोशाकमा समेत गरी २९ टोली सार्वजनिक यातायात अनुगमनकै लागि खटाइएको छ । शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ सवारीलाई कारवाही गरिएकोमा शनिबार भने सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी घटेका थिए । सरकारले तोकेको साविकको भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार शनिबार ५०० भन्दा बढी जरिवाना गरिएको थियो । शनिबार ८०४ सार्वजनिक सवारीमा अनुगमन गरिएको थियो ।
सार्वजनिक सवारीमा बढी यात्रु चढेको सूचना आएसँगै आइतबारदेखी मोटरसाइकलमा पनि अनुगमन टोली खटाइएको छ । टोलीले बढी यात्रुलाई सवारीबाट झारेर चिट काटी छाड्ने गरेको छ । आइतबार मात्रै पनि बढी भाडा लिने र आधाभन्दा बढी यात्रु बोक्ने दर्जनौँ सवारी साधन कारबाहीमा परेका छन् । सार्वजनिक सवारीले ५० प्रतिशत थप भाडा लिन बसभित्र स्यानिटाइजर लगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने भएपनि पालना भएको पाइदैन । सार्वजनिक यातायातमा भीड बढेसँगै पुनःसङ्क्रमण बढ्नसक्ने खतरा देखिएको छ । सार्वजनिक यातायातमा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखे, तोकिए भन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरीको १०३ नं मा सम्पर्क गरेर उजूरी गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #सार्वजनिक यातायात
तपाईको कमेन्ट लेख्नुहोस्