पर्यटन बोर्डको भर्चुअल बैठकमा पर्यटनमन्त्री बोल्दा बोल्दै पोर्न भिडियो बज्यो

काठमाडौं । लकडाउनले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफनो धारणा राख्दै थिए । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ मार्फत मन्त्री भट्टराईले आफनो धारणा राख्दै गर्दा बैठकमा एक्कासी पोर्न भिडियो बजेपछि हंगामा भएको छ । प्रमुख अतिथि मन्त्री भट्टराई रहेको सार्वजनिक भर्चुअल मिटिङमा अनधिकृत रुपमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेपछि हंगामा भएको हो । मन्त्री, सचिव लगायतका व्यक्तिहरु सहभागी भर्चुअल बैठकमा अस्लिल भिडियो बजेलगत्तै एडमिनले भिडियो तत्काल काटेका थिए ।
पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो बजेको थियो । सो यसअघि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वका धेरैजसो देशमा जुम एपको प्रयोग गरी भर्चुअल माध्यमबाट बैठक हुँदै आएका छन् । भारतमा समेत जुम बैठक असुरक्षित भएको भन्दै प्रयोग सम्बन्धी निर्देशिका नै जारी गरिएको छ । यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरुले अनधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने गरेका छन्, यसअघि बैकरहरुको भर्चुअल बैठकमा समेत यस्तै पोर्न भिडियो बजेको थियो ।
सुरक्षाको विषयलाई लिएर यो एपमाथि प्रश्न उठेपनि नेपालमा भने यसको प्रयोग घटेको छैन् । आइटी तथा टेक्नोलोजिका जानकारहरु मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लील भिडियो देखाउने, महत्वपूर्ण डाटा लगायतका सामाग्रीहरु चोरी गर्ने गरेको बताउँछन् । बैठक गर्दा सर्तकता अपनाउन बिज्ञहरुले सुझाव दिदैै आएका छन् ।
पर्यटन बोर्डले माग्यो क्षमा
यसैबीच पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल मिटिङका दौरान भएको घटनाबारे क्षमा मागेको छ । पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो ।
मिटिङका क्रममा हृयाक भएर असामान्य परिस्थिति सिर्जना भएको बोर्डले उल्लेख गरेको छ । घटना कसरी भयो भन्ने सम्बन्धमा बोर्डले छानविन प्रक्रिया अगाडी बढाइसकेको समेत उल्लेख गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #पोर्न भिडियो बजेपछि
तपाईको कमेन्ट लेख्नुहोस्