Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

काठमाडौं महानगरको बेवास्ता, ‘वायोमिथानेसन प्लान्ट’ अलपत्र


काठमाडौं ९ साउन । २२ घन्टासम्म लोडसेडिङको मार खेपेका नेपालीका लागि कुनै समय फोहोरबाट बिजुली निकाल्ने कुरा निकै चासोको विषय थियो । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर कुलमान घिसिङ आएसँगै लामो समयको लोडसेडिङ युग चमत्कारिक रुपमा अन्त्य भएपनि फोहोरबाट बिजुली निकाल्ने योजनाबाट भने काठमाडौं महानगरपालिका पछि हटेको छ । काठमाडौं महानगरपालिकाले ०७३ सालमा फोहोरबाट बिजुली निकालेर धेरैलाई चकित बनाएका ‘वायोमिथानेसन प्लान्ट’ अहिले महानगरकै वेवास्ताले बेकामे बनाइएका छन् । काठमाडौं महानगरपालिकाको २० प्रतिशत लगानी र युरोपेली युनियनको ८० प्रतिशत साझेदारीमा १ करोड ८६ लाख खर्चेर ल्याइएको ‘एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवर्धन’ परियोजना अलपत्र बनाइएको छ । काठमाडौंको फोहोरबाट बिजुली उत्पादन गर्न भन्दै अघि बढाइएको परियोजनाबाट १४ किलोवाट बिजुली निकाल्ने, सो बिजुली महानगरको कार्यलय प्रयोजन, स्थानीय बासिन्दालाई दिइने र टेकुका सडककमा बाल्ने भनिएकोमा अहिले बन्द ‘वायोमिथानेसन प्लान्ट’ भ्रमणमा आउने विद्यार्थी र अन्य अवलोकनकर्ताले रमाइलो मानेर हेर्ने थलोमा सिमित छ । दैनिक ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेशन गर्न सक्ने भनिएको प्लान्टले दैनिक १४ किलोवाट बिजुली, ३ सय केजी कम्पोष्ट मल, ९६ केजी ग्यास, १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी सहित अन्य शहरले पनि यसको सिको सिक्ने अपेक्षा गरेको महानगरले अरुले सिको नगर्दै आफ्नै योजना तुहाएको छ । के कारण यो परियोजना सञ्चालनमा आउन सकिएन ? हामी काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागसम्म पुगेका छौँ । योजना अनुसार ग्यास र विद्युत निकाल्न नसकेको स्विकार गर्ने वातावरण विभाग अहिले नीजि कम्पनीलाइ प्लान्ट जिम्मा लगाउने तयारीमा रहेको काठमाडौ महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । सुरुवाती चरणमा निकै तामझाम देखाएको महानगरले करोडौँको करौडौँको परियोजनालाई व्यवस्थित रुपमा अघि बढाउन नसक्नुमा दिर्घाकालिन योजना र सोचको कमी मुख्य कारक हो । दैनिक ५ सय टन फोहोरमैला उत्पादन हुने काठमाडौं महानगरमा ३ सय टन फोहोरबाट बिजुली निकाल्न सकिने लक्ष्य थियो । आफ्नो लक्ष्य अनुसार काम गर्न नसकेर परियोजनालाई बेबारिसे बनाएको महानगरले अहिलेपनि बन्द रहेको प्लान्ट रेखदेखमा पाँच जना कर्मचारी राख्दै आएको छ । विभिन्न योजना ल्याउने, बजेट खर्चिने अनि कार्यान्वयनमा सधै बेमतलबी बन्ने काठमाडौं महानगरपालिकाले उपत्यकाको दिगो फोहोर व्यवस्थापन कसरी गर्ला ? प्रश्न गम्भिर छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #plant alapatral

तपाईको कमेन्ट लेख्नुहोस्