Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

प्रेम दिवसः मीठो माया तथा अमिट सम्झना !


प्रिय………!
मीठो माया तथा अमिट सम्झना ।
तिम्रो खबर के छ, त्यो त म जान्दिन । तिमी कहाँ छ्यौ मलाई थाहा छैन । तर, आज म तिम्रै नाममा यो पत्र सम्बोधन गर्दैछु । मलाई लाग्छ, तिमी मेरा यी दुई शब्द सहजै स्वीकार गर्नेछ्यौ र मलाई ‘धन्यवाद’ दिएर असीमित गुण लगाउने छ्यौ ।

आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । संसारका करोडौँ प्रेमीहरुले आजकै दिनलाई जीवनभरिकै (नहुन पनि सक्छ) अविष्मरणीय क्षण व्यतित गर्दैछन् । हुनसक्छ, म पनि यही पत्रमार्फत् तिम्रो बारेमा कुनै पल सम्झूँला । र, लेखूँला फेरिफेरि पनि । म तिमीलाई सोध्न चाहन्छु, तिमी भ्यालेन्टाइन डे मनाउँदै छौ कि छैनौ भनेर । अनि यो पनि सोध्न चाहन्छु, भ्यालेन्टाइन डे मनाउँदै छौ भने कोसँग मनाउँदै छौ भनेर । मेरो सोधाइ तिमीलाई अस्वभाविक लाग्न सक्छ । हुनसक्छ, तिमी मेरो प्रश्नले निकैबेर रिसाउने छौ पनि । र, तिमीले उल्टै मलाई नै सोध्नेछौ, ‘तिमीलाई मेरो विषयमा किन चासो हँ ?’

तिमीलाई म आज भ्यालेन्टाइन डेको इतिहास बताउँदै छु । र, यसको महत्व बुझाउँदैछु । कुरा तेस्रो शताब्दी अर्थात् इश्वी संवत् २६९ ताकाको हो । त्यतिबेला रोमका शासक सम्राट क्लाउडियस दोस्रो गद्दीमा थिए । सम्राट क्लाउडियसले आफ्नो देशको सैन्य दस्ताको आकार ठूलो बनाउने कुरा सोचे । त्यसका लागि उनले युवा, र अझ अविवाहितलाई सैन्य भर्ना गर्ने उर्दी समेत गरे । धेरैजना त युद्धमा संलग्न हुन चाहँदैन थिए । उनीहरू आफ्ना श्रीमती र परिवार छाडेर सेनामा भर्र्ती हुन चाहेनन् । सम्राट रिसले मुरमुरिए । पुनः उनले सोचे, मान्छेले बिहे गरेन भने उसका परिवार (श्रीमती) हुने छैनन् र ऊ सेनामा टिकिरहने छ । उनले घोषणा गर्न भ्याए, ‘अब उपरान्त रोममा बिहे हुनेछैन ।’ सबैका लागि त्यो घोषणा प्राकृतिक नियमको विपरित थियो ।

संयोग, रोममा भ्यालेन्टाइन नामक पादरी थिए । उनले सम्राटको उर्र्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्म पुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो ।

भ्यालेन्टाइनलाई झुण्ड्याइयो (फाँसी दिइयो) तर, ती महिलालाई भ्यालेन्टाइनले दिएकोे नोटबाट नै भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने प्रचलन चलेको विश्वास गरिन्छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनबाट नै ‘भ्यालेन्टाइन्स डे’ मनाउन थालिएको हो । यसबाट केचाहिँ पुष्टि हुन्छ भने प्रेममा पुरानो इतिहास र परिभाषा लुकेको छ । प्रेम गर्नु मानिसको स्वभाविक प्राकृतिक देन हो । त्यसैले आजभोलि प्रेमसँग सरोकार राख्ने कैयौ घटनाहरु पनि सुनिने गर्छन् । अखबारहरुमा तिमीले पनि पढ्ने गरेकी छौ होला । ‘मिलन–विछोड’ का कुराहरु भोग्ने क्रममा छौ होला । अर्थात् भोगिसकेकी छौ होला । जे होस्, तिमीलाई सम्बोधन गरेर भ्यालेन्टाइनमा एउटा सन्देश लेख्ने अवसर पाउँदा आफूलाई गौरव गरिरहेको छु ।

भ्यालेन्टाइन डेलाई मिलनको पर्व भनेर पनि भन्ने गरिन्छ । त्यसैले त धेरैजसो जोडीहरु प्रेम प्रस्ताव राख्नुपर्दा भ्यालेन्टाइन डे पर्खेर बसेका हुन्छन् । हुनसक्छ, हाम्रो समाज अझै खुलिसकेको छैन । पश्चिमा संस्कृति भित्रिएकोमा चिन्ता व्यक्त गर्नेहरु पनि छन् यही समाजमा । र, भ्यालेन्टाइन डे लाई एउटा चाडको रुपमा मनाउने पनि छन् यही समाजमा । तिमीले भ्यालेन्टाइन डे मनाउनै पर्छ भनेर त सुझाव दिन्नँ, तर यसका राम्रा पक्षहरुको अनुशरण भने तिमीले गर्नैपर्छ । भ्यालेन्टाइनले एकातिर साथीभाइमा मित्रताको सद्भाव राखेको छ भने अर्कातिर विकृति पनि ।

हरेक फेब्रुअरी १४ मा विश्वभर मनाइने भ्यालेन्टाइन आजभोलि युवामाझ लोकप्रिय बन्दै गएको छ । त्यसैले त वर्षौवर्ष पहिले विछोड भएका प्रेमी प्रेमिका पनि भ्यालेन्टाइन डेका अवसरमा भेट हुने गरेका छन् । अझ हाम्रोजस्तो रोजगारीका लागि विदेशिनुपर्ने देशमा त भ्यालेन्टाइनले थप महत्व थपेको छ । रोजगारीका लागि विदेश पुगेका युवा आफ्ना छोराछोरी र परिवारमा माया र सदभाव साटासाट गर्न भ्यालेन्टाइन डे को अवसर पारेर घर फिर्नेहरु पनि कत्ति छन् कत्ति । भ्यालेन्टाइन डे को महत्व त उनीहरुलाई पो सोध्नुपर्छ, जो आफ्नो परिवारसँग माया साट्न घर फर्किरहेका छन् ।

तिमीसँग भ्यालेन्टाइनले पारेका असरहरुको बारेमा पनि कुरा गरौँ । आजभोलि भ्यालेन्टाइन डेसँग जोडिएर कैयौ घटनाहरु सार्वजनिक हुने गरेका छन् । युवा पुस्तामा यौनसँग जोडिएर आएका घटनाहरु विकृति होइनन् भनेर अस्वीकार गर्न पनि मिल्दैन । भ्यालेन्टाइनले गम्भीर असर पनि पारेको छ । भ्यालेन्टाइनले माया र सद्भाव साटासाट गर्नुको साटो प्रेम गर्नतर्फ युवापुस्तालाई उद्यत गरेको पाइन्छ । धेरैजसो राम्रा कुराहरुसँग जोडिएर नराम्रा कुराहरु पनि आउने भएकाले यस्ता स्वभाविक घटनाहरुलाई सच्याउँदै लानु तिमी हाम्रो दायित्व पनि हो ।
हेर त, विकृतिले मानिसलाई कति चाँडै सखाप पार्दोरहेछ, आजभोलि सार्वजनिक हुने अधिकांश आत्महत्याको तथ्यांक हेर्ने हो भने प्रेमसँग जोडिएका घटनाहरु धेरै छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा देशभर चार हजार जनाले आत्महत्या गरेको प्रहरीसँग तथ्यांक छ । जुन तथ्यांक अुनसार नेपालमा औसत हरेक दिनमा ११ जनाले अत्महत्या गर्ने गरेका छन् । जसमा महिलाहरुले बढी मात्रामा आत्महत्या गरिरहेको पाइन्छ । डाक्टरहरु भन्छन्, डिप्रेशनका कारण अधिकांशले आत्महत्या गर्छन् । यो भनेकै माया र सद्भावसँग जोडिएको छ नि, होइन र ? तर, तिमी यी सबै कुराबाट राम्रा र नराम्रा कुरा छुट्याएर अगाडि बढ्नुपर्छ । हरेक कुराको खराब पक्ष हुन्छ, त्यसैले यसबाट तिमी जोगिनुपर्छ ।
उही तिम्रो ………!
                                                                         पत्रकार गणेश शिर्पालीको फेसबुकबाट 


क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, प्रमुख समाचार, सामाजिक सञ्जाल, साहित्य
ट्याग : #गणेश शिर्पाली, #प्रिय, #भ्यालेन्टाइन डे

तपाईको कमेन्ट लेख्नुहोस्