कसरी भयो एन्फामाथि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा ?
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार कार्यकारी समितिको बैठकबाट एन्फामाथि यसअघि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) अनुसार प्रतिबन्ध फुकुवा गरिएको भन्दै राखेपले एन्फालाई औपचारिक पत्रसमेत पठाइसकेको छ । तर यो निर्णयको पृष्ठभूमि केवल राखेप र एन्फाबीचको प्रशासनिक विवाद समाधानमा सीमित छैन । यसको मुख्य कारण फिफा र एएफसीको निरन्तर दबाब हो ।
फिफा र एएफसीले एन्फामाथि सरकारी निकायको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै आएका थिए । एन्फाको निर्वाचित कार्यसमितिलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने र पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिले तय गरेको निर्वाचन तालिकाअनुसार अघि बढ्न दिनुपर्ने उनीहरुको अडान थियो । राखेपले निलम्बन फुकुवा गरे पनि निर्वाचन रोक्ने, विधान संशोधन गर्ने र जिल्ला संघको निर्वाचन गराउने निर्देशन कायम राखेपछि अन्तर्राष्ट्रिय फुटबल निकाय सन्तुष्ट हुन सकेका थिएनन् । यसको प्रत्यक्ष असर नेपाली फुटबलले भोगिरहेको थियो ।
राष्ट्रिय टोली र क्लबहरु अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित भए । फिफा र एएफसीका विकास कार्यक्रम, तालिम तथा आर्थिक सहयोगसमेत प्रभावित भयो । अर्थात्, राखेप र एन्फाबीचको विवादको मूल्य समग्र नेपाली फुटबलले चुकाउनुपर्याे । यही अवस्थामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले थाइल्यान्डमा फिफा र एएफसीका प्रतिनिधिसँग भेटवार्ता गर्ने तयारी गरेकै दिन राखेपले सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ ।
फिफा र एएफसीले आफ्ना पूर्वसर्त पूरा नभएसम्म वार्ता अघि नबढाउने अडान राखेपछि सरकारमाथि निर्णय सच्याउन दबाब बढेको देखिन्छ । यसले के स्पष्ट पार्छ भने नेपाली फुटबलमाथिको प्रतिबन्ध हटाउन सरकारसँग अब धेरै विकल्प थिएनन् । अन्तर्राष्ट्रिय फुटबल निकायको स्वायत्ततासम्बन्धी नियम र अडानका अगाडि सरकारी हस्तक्षेपको औचित्य स्थापित गर्न नसकेपछि सरकार अन्ततः पछि हट्न बाध्य भएको देखिन्छ ।
राखेपको पछिल्लो निर्णयले तत्कालका लागि नेपाली फुटबलमाथि लागेको संकट हटाउने आधार तयार गरेको छ । तर यसले सरकारलाई एउटा सन्देश पनि दिएको छ कि खेलकुद संघमा सुशासन र जवाफदेहिताको नाममा गरिने हस्तक्षेप अन्तर्राष्ट्रिय नियम र संस्थागत स्वायत्ततासँग बाझिए त्यसको मूल्य खेलाडी र समग्र खेल क्षेत्रले चुकाउनुपर्ने हुन्छ । अब चुनौती प्रतिबन्ध फुकुवामा मात्र होइन एन्फाभित्रको विवाद समाधान गर्दै नेपाली फुटबललाई अन्तर्राष्ट्रिय लयमा फर्काउनुमा छ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कसरी भयो एन्फामाथि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा ?
- २प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तिब्र, के के छन् उठाउनुपर्ने मुख्य कुरा ?
- ३काठमाडौंलाई २४ सै घण्टा खुला राख्ने तयारी
- ४सरकारमाथि एमालेको प्रश्नै प्रश्न, स्थानीय तहको निर्वाचन समयअगावै नगराउन चेतावनी
- ५श्रमिकको पसिनामाथि अर्बौँको लुट, संरक्षण गर्नुपर्ने मन्त्री र उच्च कर्मचारी नै ठगीमा



तपाईको कमेन्ट लेख्नुहोस्