Techie IT
  • ४ मंसीर २०८३, बिहीबार
KhojPatrika

श्रमिकको पसिनामाथि अर्बौँको लुट, संरक्षण गर्नुपर्ने मन्त्री र उच्च कर्मचारी नै ठगीमा


काठमाडौं । वैदेशिक रोजगारीका नाममा नेपाली श्रमिकमाथि कसरी लुट मच्चाइन्छ र त्यसमा राज्यकै जिम्मेवार पदाधिकारी कसरी जोडिन्छन् भन्ने डरलाग्दो तथ्य खुलेको छ । मलेसिया जाने साढे सात लाख नेपाली श्रमिकबाट १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा असुलि प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित श्रम मन्त्रालयका चार उच्च अधिकारी नै संलग्न रहेको भन्दै अनुसन्धान अघि बढाइएको छ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि यो प्रकरणमा जोडिएका छन् ।

मलेसिया जाने नेपाली श्रमिकको पसिनामाथि वर्षौँदेखि चलिरहेको भनिएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको ठगी धन्दाको जालो अब राज्यको सर्वोच्च प्रशासनिक तहसम्मै पुगेको छ । श्रमिकसँग गैरकानुनी रूपमा रकम असुल्ने र त्यसलाई विदेश पठाउने प्रक्रियामा संलग्न भएको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित श्रम मन्त्रालयका चार उच्च अधिकारी पक्राउ परिसकेका छन् । अनुसन्धानकै क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्यालको नामसमेत जोडिएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, अर्याल भने फरार छन् ।

यससँगै सामान्य श्रमिकको खल्तीबाट सुरु भएको भनिएको ठगीको सञ्जाल राजनीतिक नेतृत्व, प्रशासनिक अधिकारी र व्यवसायी हुँदै देशकै उच्च प्रशासनिक तहसम्म फैलिएको आशंका चुलिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मलेसिया जाने करिब साढे सात लाख नेपाली श्रमिकबाट प्रतिव्यक्ति एक सय मलेसियन रिंगेट अर्थात् करिब तीन हजार ६ सय रुपैयाँका दरले रकम असुलिएको जनाएको छ । तर, नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा यस्तो अतिरिक्त शुल्क उठाउने व्यवस्था थिएन ।

सम्झौतामै नभएको शुल्कलाई अनिवार्यजस्तै बनाएर श्रमिकको कमाइबाट रकम असुल्ने धन्दा वर्षौँसम्म चलाइएको प्रहरीको दाबी छ । यो प्रकरणमा पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ छन् । उनीहरूमाथि व्यवसायीको आर्थिक स्वार्थका लागि पदीय अधिकार दुरुपयोग गरेको र गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने प्रक्रियामा सहयोग गरेको आरोप छ ।

सीआईबीका अनुसार श्रम मन्त्रालयकै तत्कालीन नेतृत्वको सहयोगमा एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत मलेसिया पठाइएको थियो । प्रहरी अनुसन्धानले यस धन्दाको योजनाकारका रूपमा मेडिकल व्यवसायी कैलाश खड्कालाई देखाएको छ । श्रमिकबाट रकम उठाउने, मन्त्रालयका अधिकारीसँग मिलेमतो गर्ने र संकलित रकम मलेसिया पठाउने प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको प्रहरीको दाबी छ ।

खड्कासहित रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी यसअघि नै पक्राउ परिसकेका छन् । विदेश पठाइएको रकम हुन्डीमार्फत पुनः नेपाल भित्र्याइएको हुन सक्ने आशंकामा समेत अनुसन्धान भइरहेको छ । तर, यो प्रकरणमा अनुसन्धानको दायरा अझ माथि पुगेको छ । पूर्वमुख्यसचिव एकनारायण अर्यालको समेत कनेक्सन देखिएको भन्दै सीआईबीले पक्राउ पुर्जी जारी गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

कागजात र निर्णय प्रक्रियामाथि अनुसन्धान अघि बढेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ । यद्यपि, अर्यालको संलग्नता केमा र कुन तहसम्म हो भन्ने विषय अनुसन्धानबाटै खुल्न बाँकी छ । अर्कोतर्फ, गैरकानुनी शुल्क हटाउन खोज्दा व्यवसायीले असहयोग गरेपछि मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया नै रोकिएको छ । रोजगारीका लागि विदेशिन बाध्य श्रमिकको हित रक्षा गर्नुपर्ने सरकारी संयन्त्रमाथि नै ठगीलाई संरक्षण गरेको आरोप लाग्नु सामान्य विषय होइन ।

अब अनुसन्धानले कसले कति रकम लिए, कसको संरक्षणमा यो धन्दा चल्यो, विदेश पठाइएको अर्बौँ रुपैयाँ कहाँ पुग्यो र पूर्वमुख्यसचिवसम्मको कनेक्सन के हो भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ । किनकि यो प्रकरण केही व्यवसायीको आर्थिक अपराधमा मात्रै सीमित छैन । वैदेशिक रोजगारीको नाममा श्रमिकको पसिनाबाट अर्बौँ असुलिँदा नियमन गर्ने जिम्मेवारीमा रहेका पदाधिकारी नै संलग्न भएको आरोपले राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं