संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आरोपै आरोप लगाउदै प्रश्नै प्रश्न उठाएका छन् । सरकारले स्थानीय तहको निर्वाचनमा धाधली गरेको देखि सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाएकोसम्म आरोप संसदमा उनले लगाएका छन् । ओलीले स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि नगरेको बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहीत हुन नसकेको आरोप लगाएकी हुन् ।
सम्भव भएसम्म सबै षड्यन्त्र, राज्यसंयन्त्रको हस्तक्षेप, त्रासदीपूर्ण वातावरणका बीच गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर भोट दिन आम जनतालाई बाध्य पार्ने काम भएको ओलीले बताए । चुनावको समयमा गठबन्धनका नेताहरुले फलानालाई भोट नदिने हो भने देशमा दुर्घटना हुन्छ भनेर धम्क्याउने काम भएको भन्दै उनले आपत्ती जनाए । त्यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाए ।
साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरुको भदौ १ गते सम्माननीय सभामुखकहाँ हामीले प्रस्तुत गरिसकेको कुरालाई १० दिन पर्खिएर ‘अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?’ ओलीले प्रश्न सोधेका थिए । त्यस्तै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सरकारले पहल नगरेको आरोप लगाए ।
२०७७ सालमा आफू नेतृत्वको सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै ओलीले अहिलेको सरकारले फिर्ता ल्याउँछु भन्न सक्नुपर्ने बताएका छन् । ओलीले नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको आरोप लगाए । आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफै मोटो रकमको चलखेलमा लागेको पनि उनले आरोप लगाएका थिए । आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र घुसाउन खोजिंदैछ । यसका लागि मोटो रकमको चालखेल भइसकेको छ, हुनेवाला छ भन्ने बजार हल्ला भएको ओलीले बताए ।
इन्धन जस्तो अत्यवश्यक वस्तुमा निजी क्षेत्रले हड्ताल गरिदिए के हुन्छ भन्दै उनले निजीकरणको विरोध गरेका थिए । ओलीले अमेरिकी सहायकमन्त्रीले गुम्बा गुम्बाको भ्रमण गरेकोमा आपत्ति जनाए । उनले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाए । उनले अघि भने, ‘विदेशीमन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ? उनले प्रश्न सोधे ।
एमाले अध्यक्ष ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्जजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न देउवालाई ओलीले आग्रह गरेका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभाको बैठक, #संसदमा ओली
तपाईको कमेन्ट लेख्नुहोस्