Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

टिकटकमा बढ्दैछ बिकृति,भाइरल हुने नाममा अश्लिल हर्कत,कसले गर्ने नियमन ?

सावधान नपनाउँदा टिकटकले नै लियो ज्यान


काठमाडौं । टिकटक देखिएका सामाग्री कस्ता छन् कहिल्यै तपाईले मनन् गर्नुभएको छ ? नेपालमा बढ्दै गरेको टिकटक ट्रेनले परिवारमै हेर्न नसकिने खालका विकृति बढाइरहेको छ । टिकटक आफ्नो विभिन्न कला प्रस्तुत गर्ने गराउने मनोरञ्जनको साधनका साथै कतिपयका लागि आम्दानीको राम्रो श्रोत समेत बन्दै आएपनि यसमा विकृति पनि उत्तिकै छन् । विश्वका अधिकांश मुलुकमा आफ्नो बजार विस्तार गर्न सफल टिकटक के वृद्ध, के बालबालिका, युवायुवती, किशोरकिशोरी वा महिलापुरुष सबैले रुचाइएको सञ्जाल बनेको छ । तर, स्वतन्त्रताले सिमा नाग्दा नेपालमा टिकटकको नाममा थुप्रै विकृति विसङ्गतिहरू बढ्न थालेका छन् ।

अहिले समाजले टिकटकलाई वरदान वा अभिशाप कुन रूपमा बुझ्ने र स्विकार्ने भन्ने प्रश्न र चुनौतीहरू थपिन थालेका छन् । आफ्नो टिकटकलाई बिकाउ बनाउन अपनाइने गरेका अश्लिल फण्डाहरुले आफ्नो बद्नाम भएको पत्तै पाउदैनन् । टिकटक बनाएर भाइरल हुने क्षणिक उद्देश्यले र अरूको नक्कल गर्दा ज्यानै जोखिममा परेका घटनाहरु पनि धेरै छन् । अर्कोतिर हाम्रो सामाजिक रीतिरिवाज, संस्कृति र परम्परालाई नै धुमिल्याउने गतिबिधि समेत टिकटकमार्फत भैरहेका छन् । कतिपय उत्तेजक र उत्ताउला भिडियोले हामी लाईक र फलोअर्स बटुल्ने नाममा सामाजिक मूल्यमान्यता सबै भुलेर नांगिदै त छैनौँ भन्ने देखाएका छन् ।

इन्टरनेटको विकास सँगसँगै सूचना प्रविधिले गुणात्मक फड्को मार्नु अनि सामाजिक सञ्जालको विस्तार हुनुलाई सकारात्मक मान्नुपर्छ । मोबाइल, कम्प्युटर, ल्याप्टपजस्ता विद्युतीय सामग्री तथा साधनको प्रयोग गरी मानिस इन्टरनेटका माध्यमबाट विश्वलाई नै एउटा घरमा परिणत गर्न सफल भएको यो परिस्थितिलाई सकारात्मक मान्दैगर्दा बिक्रितिले पनि उही रुपमा विस्तार पाउनु गम्भिर बिषय हो । फेसबुक, म्यासेन्जर, ट्वीटर, युट्युब, टिकटक, भाइबर, इमो, इन्स्टाग्राम, ह्वाट्स एप तथा ब्लग आदिजस्ता सामाजिक सञ्जालले विश्वमा हुने हरेक ताजा खबर वा सूचनामा सबैको पहुँच पु¥याएका छन् ।

कतिपयका लागि आफन्त, इष्टमित्रसँगको सम्बन्ध स्थापित गर्ने एकान्तको साथी र बिछोडिएका तथा टाढिएका साथीभाइसँग भेट गराइदिने माध्यम बनेका सामाजिक सञ्जालहरु कतिपयका लागि अरूलाई हानि पु¥याउने, बदला लिने, प्रतिशोध साध्ने वा गलत नियत र मनसायले कसैको निजी तथा पारिवारिक जीवनमा चोट पु¥याउन प्रयोग गर्ने साधनका रुपमा दुरुपयोग समेत भैरहेका छन् । आज हामी सूचना प्रविधिका विभिन्न माध्यमहरूमध्ये महत्वपूर्ण र लोकप्रिय माध्यम बनेको टिकटक मनोरञ्जन तथा व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि प्रभावकारी देखिएको टिकटक र यसमा राखिने सामाग्रीका विषयमा सबैभन्दा बढी केन्द्रीत भैरहेका छौँ । आजको जमानामा टिकटक अकाउन्ट नबनाउने मान्छे पनि हुन्छन् ? भन्न थालिएको छ ।

टिकटक सबैको लागि जीवनको अभिन्न अङ्ग बन्दै गर्दा समय बिताउने, विरक्ति भगाउने, मनोरञ्जनका लागि भिडियो बनाएर लाइक, कमेन्ट, फलोअर्स बढाउने वा आयआर्जन गर्ने उद्देश्यले बनाइएका हुन् छुट्याउन गाह्रो छ । कतिपय टिकटक त परिवारका बिचमा बसेर हेर्नै नमिल्ने खालका छन् । यस्ता टिकटकहरू हेर्दा लाग्छ यहाँ शरीरको विज्ञापन अथवा अङ्ग प्रदर्शनको होड चलिरहेको छ । यस्ता भिडियो सामाग्रीहरुले समाजमा आपराधिक मनोवृत्तिका व्यक्तिलाई प्रोत्साहित त गरिरहेको छैनन ? भन्ने प्रश्न उब्जाएका छन् ।

टिकटकजन्य अधिकांश भिडियो र क्याप्सन हेर्दा केहीले सकारात्मक सन्देश दिए तापनि अश्लीलतायुक्त टिकटक नै बढी भेटिन्छन, जुन आफ्ना परिवारका सदस्यहरूसँगै बसेर हेर्न पनि लाज लाग्ने खालका हुन्छन् । केही व्यक्तिका गला र कलाले धेरैलाई प्रभावित बनाए पनि नकारात्मकता र अश्लीलताले भरिएको टिकटक भिडियोले भने समाज र आजको पुस्ता कता जाँदै छ भन्ने गम्भिर प्रश्न उब्जाएको छ । टिकटक भिडियोमा सकारात्मक सन्देशभन्दा पनि बढी नकारात्मता हावी हुँदा सानासाना बालबालिकाहरूलाई समेत प्रत्यक्ष रूपमा नकारात्मक असर पर्ने प्रष्ट छ । यसप्रति आजको सचेत युवापुस्ता गम्भीर हुन आवश्यक छ ।

हुन त यो भीडमा केही टिकटकहरु सकारात्मक सूचना सञ्चार, मनोरञ्जन र शिप ज्ञानको आदानप्रदानमा पनि केन्द्रीत छन् । अन्य फण्डाहरुका तुलनामा यस्ता सकारात्मक सामाग्रीहरु ओझेलमा छन् । छोटो समयमै अन्य सामाजिक सञ्जाललाई उछिन्दै नेपाली बजारमा राम्रो स्थान लिन सफल भएको टिकटकले कतिपयको जिवनस्तर बदलेको छ । कतिपयले टिकटकबाटै राम्रो आम्दानी समेत गरेका छन् । लाईक, फलोअर्स बढाउने अनि कमाउने होडमा कतिपयले संयमित भएरै कमाइरहेका पनि छन् ।

टिकटकको होड यतिसम्म छ कि भिडियो बनाउँदा सानो असावधानीले ठुलो दुर्घटनाको सिकार बन्नु समेत परेको छ । टिकटकमा भ्युज, लाइक र फलोअर्स बढाउन विभिन्न जोखिमपूर्ण काम गर्ने, अनौठो दृश्य अपलोड गर्ने, अस्वाभाविक पोजमा तस्बिर र भिडियो खिच्ने अस्वस्थ होडबाजी र तीव्र प्रतिस्पर्धा प्रायजसो टिकटकप्रेमीमा छ ।टिकटक बनाउने नाउँमा सानासाना बालबालिकादेखि किशोरकिशोरीहरू, युवायुवतीहरू र प्रौढावस्थाका थुप्रै व्यक्तिले अकालमै ज्यान समेत गुमाइरहेका छन् ।

टिकटकका कारण ज्यान गुमाउनुपरेका केही प्रतिनिधि घटनाहरु
– पोखरा महानगरपालिका–१४, मनकामना टोलकी आठ वर्षीया बालिका प्रनिशा बानियाँ घरको छतमा बसेर टिकटक बनाउने क्रममा लडेर गम्भीर घाइते, उपचारका क्रममा मृत्यु
–टिकटक भिडियो बनाउने क्रममा बबई नदीको झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१९, बिजौरी निवासी २४ वर्षीय रमेश थापाको उपचारको क्रममा मृत्यु
– टिकटक भिडियो बनाउनकै लागि बन्दुकको प्रयोग गर्दा भूलवश आफ्नो कन्चटमा गोली चलेर १८ वर्षीय युवकको मृत्यु
–धरानबाट ओखलढुङ्गा आउँदै गरेका धरान–५ का १८ वर्षीय सुवास परियारको उदयपुरको कटारी नगरपालिका–११, हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु
–उदयपुरमा सलको पासो लगाई टिकटक भिडियो बनाउने क्रममा ११ वर्षीया बालिका सञ्जिता बस्नेतको झुन्डिएर मृत्यु
–तनहुँमा टिकटक बनाउने क्रममा चिप्लिएर १९ वर्षीया पवित्रा लम्साल सेती नदीमा खसेर बेपत्ता
२०७८ साल भदौँमा विभिन्न पोजमा टिकटक भिडियो खिच्ने क्रममा टर्कीकी २३ वर्षीया युवतीको नौ तलाबाट खसेर ज्यान गएको थियो । देश विदेशमा यी र यस्ता थुप्रै घटेका छन् । टिकटकको लत यतिसम्म गम्भिर बन्दैछ की बालबालिकादेखी युवायुवती, बृद्धबृद्धाहरु यो सञ्जालमा झुम्मिन थालेका छन् । घरपरिवार, आफन्त छरछिमेकीसँग लज्जा देखाउनेहरु टिकटकमार्फत यतिसम्म नांगिदैछन कि, उनीहरु आफैले अपलोड गरेका भिडियोहरु हेर्दा लाज लाग्ने अवस्था छताछुल्ल भैरहेको छ ।

नेपालमा टिकटकका नाममा बढ्दैगरेको मनलागदी र छाडा प्रबृत्तिलाई नियमन गर्न ढिलाई भएको आभाष यस्ता भिडियो आफैले गराइरहेका छन् । आधुनिक युगमा खानेकुरा, रक्सी, जुवातास तथा अन्यको मोहसँगै टिकटकजस्ता सामाजिक सञ्जालको लत र मोह पनि चुलिँदो छ । टिकटकमा सबै उमेर समूहको विशेष रूचि, आकर्षण र लगाव रहेको पाइन्छ । टिकटकमा उपलब्ध सबै भिडियोहरू नकारात्मक छैनन् । कतिपयले सामाजिक सचेतना र सुधारको सन्देश दिनुको साथै ती कलात्मक पनि छन्, जो समाजका लागि शिक्षाप्रदसमेत छन् । यस्ता भिडियो कम अधिकांश भिडियोहरू नेपाली समाजले सहजै स्विकार्न नसक्ने गतिछाडा, अश्लील र समुदायको सामाजिक सद्भाव खलबलाउने खालका छन् ।

अतः टिकटकजस्ता सामाजिक सञ्जालका सकारात्मक पक्षलाई ग्रहण गर्दै नकारात्मक पक्षलाई दुरुत्साहित गर्न सबैले पहलकदमी भुमिका निभाउनुपर्छ । यसको प्रयोग के, कसरी र कुन किसिमले गर्ने भन्ने कुरा प्रयोगकर्तामै निर्भर हुन्छ । संवेदनशील पक्षलाई दृष्टिगत गरी प्रयोगकर्ता, दर्शक र अन्य सम्बद्ध निकायले समाजका लागि स्वीकार्य हुने गरी टिकटकजस्ता सामाजिक सञ्जालको उचित व्यवस्थापन, नियन्त्रण र नियमन गर्नुपर्दछ । यसो हुन सकेमा यसप्रति सबै पक्षले गम्भीर, संवेदनशील र सचेत भएर सामाजिक सञ्जालअन्तर्गत टिकटकको प्रयोगलाई अभिशाप हुन नदिई वरदानका रूपमा परिणत गर्न सकिन्छ ।

एकपटक फेरि पनि गतिछाडा प्रबृत्तिले टिकटकमा बढाएका विकृति कसले रोक्ने ? टिकटकको निर्माण, प्रसारण नेपाली ट्रेन नियाल्दा सामाजिक सञ्जालको सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएको देखिन्छ । भाइरल हुने नाममा पोस्ट भैरहेका टिकटकले व्यक्ति, परिवार, समाज तथा राष्ट्र नै गम्भीर सामाजिक समस्याको दलदलमा फस्न सक्ने चुनौती थपिदिएका छन् । यसलाई सामाजिक र कानुनी रूपमै उचित व्यवस्थापन र नियन्त्रण समयमै गर्न सकिएन भने यसले नकारात्मकताको विकराल रूप लिन लामो समय पर्खिनु पर्दैन ।

हुन त नकारात्मक गतिबिधिले तिब्रता पाउँदा छिमेकी मुलुक भारतलगायतका कतिपय देशमा सुरक्षाको कारण देखाई टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । हाम्रो नेपाली समाजमा पनि टिकटकका राम्रा पक्षहरूभन्दा नराम्रा पक्षहरू दिनप्रतिदिन हाबी भैरहेको बारे राज्यका निकायहरु भने बेखबर जस्तै छन् । अव स्वयम टिकटकको लतमा फसेका तपाई हामी सचेत बन्दै सच्चिनुपर्छ । अनि सरकार र नियामक निकायहरुले सामाजिक र कानुनी रूपमै उचित व्यवस्थापन र नियन्त्रणका लागि बेलैमा पहलकदमी भुमिका निभाउनुपर्छ ।


क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अश्लीलता, #टिकटक, #टिकटक फण्डा, #फण्डाहरु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं