Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

९ दिनदेखि उठेन काठमाडौं उपत्यकाको फोहोर,ल्यान्डफिल्ड साइटका स्थानीय आन्दोलित


काठमाडौं । सरकार र सरोकारवाला निकायको लापरवाहीका कारण काठमाडौँ उपत्यकाको फोहोर फेरि उठ्न छाडेको छ । फोहोर विषर्जन हुँदै आएको सिसडोलमा स्थानियबासीको विरोधका कारण अहिले उपत्यका निकै दुर्गन्धित बनेको हो । फोहर व्यवस्थापनको दिर्घकालीन समाधानतर्फ सरकार उदासीन बन्दा उपत्यकाबासीले निरन्तर यस्तो समस्या व्यहोर्दै आउनु परेको छ । सरकार र स्थानीय निकायहरुलाई काठमाडौँ उपत्यकाको फोहरको व्यवस्थापन सधैँ चुनौतीको विषय बन्दै आएको छ । कुनै न कुनै बहानामा चोकचोकमा फोहोरका डंगुर थुप्रिएर शहर नै दुर्गन्धित बन्नु नौलो कुरा बन्न छाडेको छ ।

कहिले वर्षात्को समयमा बाटो बिग्रिएर फोहोर नउठ्ने समस्या त कहिले ल्यान्डफिल्ड साइटका स्थानीय बासिन्दाको विरोधका कारण फोहर व्यवस्थापनमा समस्या देखिँदै आएको छ । तर, सरोकारवाला निकायले फोहर व्यवस्थापनका लागि दिर्धकालीन समाधानतर्फ ध्यान दिन भने सधैँ लापरवाही गर्दै आएका छन् । गत आइतबारदेखि सिसडोलबासिले सडक निर्माण लगायतको माग राखेर आन्दोल मै उत्रिएपछि उपत्यकाका चोक चोकमा फेरि फोहर थुप्रिन थालकेहो हो । यस्तो समस्याको समाधानमा राज्यले हेलचक्राइ गरेपछि नागरिक समेत आक्रोसित देखिन्छन । हाल फोहोर व्यवस्थापन गरिने स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीयतहको फोहोर फालिँदै आएको छ ।

केही बर्षका लागि भनेर अस्थाइ रुपमा सुरु गरिएको सिसडोलस्थित ल्यान्डफिल्ड साइटमा अहिले पनि काठमाडौँको फोहर व्यवस्थापन हुँदै आएको छ । यहाँको फोहर व्यवस्थापनका लागि २०५७ मंसीरदेखि निर्माण कार्य सुरु भएको बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइट अफैसम्म तयार हुन सकेको छैन । फोहर व्यवस्थापनमा असफल बन्दै आएका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य यतिसम्म व्यस्त रहेछन् कि, उनले आफ्नो कार्यकक्षमा झुन्डाइएको प्रधानमन्त्रीको फोटो समेत परिवर्तन गर्न भ्याएका छैनन् ।

देशमा प्रधानमन्त्री परिवर्तन भएको समेत चाल नपाएका मेयर शाक्यले पाँच वर्ष अघि वाचा गरेको कुरा झन् कसरी सम्झिरहन सक्लान् खै ? बरु उल्टै सरकार कै कारण उपत्यका दुर्गन्घित बनेको दोष दिएर उम्किन भने उनी चुक्दैनन् । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरिए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । महानगरपालिकालाई गत भदौमा नै पहिलो सेल निर्माण सम्पन्न गरेर फोहोर फाल्न शहरी विकाश तथा भवन निर्माण विभागले परिपत्र गरेको थियो । तर, पुर्णरुपमा सम्पन्न नभएसम्म त्यहाँ फोहोर फाल्न नसकिने भन्दै महानगरपालिका पन्छिएको छ ।

यता ल्याण्डफिल साइटको जिम्मेवारी पाएको भवन निर्माण बिभागले पूर्णरुपमा यही आर्थिक वर्षको अन्त्यसम्म फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडा हस्तान्तरण गर्ने दाबी गरेको छ । सम्झौता अनुसार बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको निर्माण सम्बन्धी सम्पूर्ण कार्य गत वैशाख मै पुरा हुनु पर्ने थियो । सरकारको योजनाअनुसार निर्माण सम्पन्न भएको खण्डमा त्यो स्थानमा २० बर्षसम्म काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिन्छ । निर्माण कार्यमा यस्तै ढिलासुस्ती भइरहने हो भने उपत्यका बासिन्दा अझै लामो समय नाक थुनेर हिँड्नु विकल्प भने देखिँदैन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #फोहोर, #ल्यान्डफिल्ड साइट, #सिसडोल

तपाईको कमेन्ट लेख्नुहोस्